उर्जा

निःशुल्क रुपमा सोलार वितरण

बैतडी । गाउँपालिकालाई उज्यालो बनाउने उद्देश्यले बैतडीको दोगडाकेदारमा निःशुल्क रुपमा सोलार वितरण भइरहेका छन् ।

विद्युत् सेवाको पहुँच बाहिर रहेका दलित परिवारलाई ‘उज्यालो दोगडाकेदार’ कार्यक्रमअन्तर्गत निःशुल्क रुपमा एक हजार सोलार वितरण गरिन लागिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरसिंह विष्टले जानकारी दिए ।

सो गाउँपालिकाको वडा नं १ का ८५ घरपरिवालाई सोलार वितरण गरी सो कार्यक्रम शुरु गरेको उनले बताए । दोगडाकेदार गाउँपालिकाको २० लाख तथा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको थप अनुदान सहयोगमा सोलार वितरण गरिन लागिएको हो ।

वडा नं १, २, ६ र ८ का दलित बस्तीमा विद्युत्को पहुँच बाहिर रहेका सम्पूर्ण घरधुरीलाई एक/एक थान सोलार वितरण गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले बताए । वडा कार्यालयबाट लगत मागेर सम्बन्धित वडाध्यक्ष र सचिवको रहोवरमा सोलार वितरण भइरहेका दोगडाकेदार गाउँपालिकाले जनाएको छ ।

सो गाउँपालिकाभित्र एक हजार बढी दलित परिवार रहेका छन् । ‘उज्यालो दोगडाकेदार’ गाउँपालिकाका रुपमा चिनाउनका लागि सोलार वितरण गरिन लागेको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए।