कृषि

इलाममा हरियो चियापत्ती टिपाइ शुरु

मंगलबारे, इलाम । इलाममा चियाको पहिलो टिपाइ (फस्ट फ्लस) शुरु भएको छ । गत कात्तिक लागेसँगै बाँझी बसेर पलाउन छोडेको चिया पुनः पलाउन थालेसँगै चियापत्ती टिपाइ शुरु भएको हो । योसँगै जिल्लाका चिया कारखानाले पनि प्रशोधनको तयारी थालेका छन् । यसरी केही समयसम्म फुर्सद रहेका चिया तथा कारखाना मजदूरको कार्य ब्यस्तता अहिले ह्वातै बढेको छ ।

पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच बढाउनसमेत चियापत्तीको टिपाइ छिट्टै थालिएको हो । यस वर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ । अघिल्लो वर्ष चैत अन्तिम सप्ताहबाट मात्रै चियापत्तीको टिपाइ शुरु भएको थियो तर यो वर्ष चैतको शुरुमै चियापत्तीको टिपाइ शुरु भएको किसानको भनाइ छ ।

जिल्लाका लेकाली क्षेत्रमा अझै पूर्णरुपमा चियापत्ती पलाउन सकिएको छैन् । मध्य तथा गर्मीे बढेका क्षेत्रमा चियापत्ती टिप्न शुरु गरिएको हो । उत्पादन कम भए पनि फस्ट फ्लस चियाको मूल्य उच्च हुने भएकाले किसानले छिट्टै नै चियापत्तीको टिपाई शुरु गरेको हो ।