पर्यटन/संस्कृति

कुण्ड संरक्षणका लागि गुरुयोजना

कञ्चनपुर । भीमदत्त नगरपालिका–१ बाराकुण्डाका कुण्ड(ताल) संरक्षणका लागि गुरुयोजना बनाइने भएको छ । भीमदत्त नगरपालिका कार्यालयले चालू आवमा बाराकुण्डा क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन गुरुयोजना बनाउन लागेको हो ।

धार्मिक क्षेत्र रौटेलामा पर्ने बाराकुण्डा क्षेत्रमा १२ कुण्ड छन् । ती सबै कुण्ड धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । भीमदत्त नगरपालिकासहित विभिन्न सरकारी गैरसरकारी संस्थासित सहकार्य गरी बाराकुण्डाका कुण्डलाई सफा गर्ने अभियान सञ्चालनमा ल्याएको छ । चुरे संरक्षण सञ्जाल नेपाल र बैजनाथ सामुदायिक वन यस अभियानमा लागेका हुन् ।

भीमदत्तनगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बाराकुण्डालाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन गुरुयोजना बनाएर काम शुरु गरिने बताए । “गुरुयोजना बनाएर यस क्षेत्रको प्रवद्र्धन र विकास गर्छौं” उनले भने । बाराकुण्ड क्षेत्रको पर्यटन प्रवर्धनका लागि रौटेला ब्रह्मदेव जैविक धार्मिक पर्यटकीय मार्गसमेत बनाउन थालिएको छ ।

गुरुयोजनासँगै बाराकुण्डाका सबै तालको नामाकरण गरिने नगर प्रमुख विष्टले बताए । सफाइ गरिएका तीन तालमध्ये सबैभन्दा ठूलो ताललाई सीताराम ताल नामाकरण गरिएको छ । यसअघि यो ताललाई लामो ताल भनेर चिन्ने गरिएको थियो ।

भीमदत्त नगरपालिका–१ वडा कार्यालयले चालू आवमा ताल संरक्षणका लागि पाँच लाख बजेट छुट्याइएको छ । वडा नं १ का अध्यक्ष आशेफ कुँवरले बाराकुण्डा क्षेत्रको ताल संरक्षण र विकासका लागि यस वर्ष पाँच लाख बजेट विनियोजन गरिएको र आगामी वर्षदेखि यसलाई निरन्तरता दिँदै जाने बताए ।

बाराकुण्डबाट विष्णु मन्दिर साकेतधाम र भम्केनी धाम नजिक पर्छन् । अहिले भीमदत्त नगरपालिकाले रौटेलाबाट ब्रह्मदेव जोड्न जैविक धार्मिक पर्यटन मार्ग बनाउन शुरु गरेको छ ।

चालू आवमा ब्रह्मदेवसम्म मार्गको ट्रयाक खोलेर आगामी वर्षदेखि कालोपत्रे गरिने कार्यक्रम बनाइएको छ ।