समाचार

पाल्पाका ग्रामीण सडक तीव्ररुपमा निर्माण हुँदै

सुशीला रेग्मी /रामपुर, पाल्पा । पाल्पाका स्थानीय तहले सडक सञ्जालको निर्माण कार्यलाई विशेष प्राथमिकता दिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा चालु आर्थिक वर्षमा ग्रामीण कच्ची सडकको निर्माण र मर्मतसम्भारलाई विशेष प्राथमिकताका साथ अगाडी बढाएको छ । यस कार्यका लागि पाल्पामा कुल रु ४२ करोडभन्दा बढी रकम विनियोजन गरिएको छ ।

रामपुर नगरपालिकाले नगरभित्रका ग्रामीण कच्ची सडक निर्माण तथा मर्मत, सडकको स्तरोन्नतिका लागि रु छ करोड विनियोजन गरेर तिब्र रुपमा काम अगाडी बढाएको नगर प्रमुख रमणबहादुर थापाले बताए ।

“नगरका अधिकांश वडा ग्रामीण भेगमा छन्, सामान्य पानी परेका बखत आवतजावतमा नगरवासीले निकै समस्या झेल्नुपरिरहेको छ” उनले भने । नगरपालिकाका केन्द्रसम्म प्रत्येक वडावडाका नागरिकलाई सहजरुपमा आवतजावत गर्न विकास निर्माणतर्फ सडक सञ्जाललाई पहिलो प्राथमिकता दिएर काम अगाडी बढाएको नगरप्रमुख थापाले बताए ।

तानसेन नगरपालिकाले यस वर्षलाई सडक निर्माण वर्षका रुपमा कार्य योजना बनाएर अघि बढेको छ । यसका लागि रु १० करोड विनियोजन गरेर काम थालनी गरेको नगर प्रमुख अशोककुमार शाहीले बताए ।

गाउँमा उत्पादित कृषिजन्य वस्तुलाई शहर पठाउन र प्रत्येक वडादेखि गाउँपालिकाको केन्द्रसम्म सहजरुपमा बाह्र महिना यातायातका साधन सञ्चालन गराउन यस वर्ष सडकलाई नै प्राथमिकता दिइएको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए । सडक मर्मत तथा निर्माणको क्षेत्रमा गाउँपालिकाले रु चार करोड ५० लाख रकम विनियोजन गरिएको अध्यक्ष थापाले बताए ।

जिल्लाको पूर्वी भेगमा अवस्थित निस्दी गाउँपालिकाले सडक क्षेत्रलाई नै प्राथमिकता दिएर रु तीन करोड ५० लाख विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु बताउछन् ।

पूर्वखोला गाउँपालिकाले पनि यस वर्ष सडक सञ्जालको निर्माणलाई नै प्राथमिकतामा राखेको छ । सो कार्यका लागि गाउँपालिकाले रु तीन करोड छ लाख ३५ हजार विनियोजन गरेको अध्यक्ष नुनबहादुर थापाले बताए।

यस पटक सबैको माग सडक निर्माणमा आएकाले सोहि अनुरुप यस क्षेत्रका लागि रु तीन करोडभन्दा बढी रकम विनियोजन गरेको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल बताउछन् ।

पूर्वाधार निर्माणका लागि सडक सञ्जालले जोड्नुपर्ने भएकाले गाउँपालिकामा पहिलो प्राथमिकता सडकलाई दिइएको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीको भनाइ छ । घर्तीका अनुसार सडकका लागि रु तीन करोड ६३ लाख ९३ हजार विनियोजित गरेर काम थालनी गरिएको छ ।

सडक संजालले जोड्न नसकेका स्थानमा यस वर्ष सडक पु¥याउने उद्देश्यले रु चार करोड विनियोजन गरेको रैनादेवी गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिए ।

रम्भा गाउँपालिकाले सडक क्षेत्रलाई रु दुई करोड ६८ लाख विनियोजन गरेर सडक निर्माण तथा मर्मतका काम गरिरहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउछन् । रिब्दीकोट गाउँपालिकाले पनि सडकलाई नै प्राथमिकतामा राखेर काम गरेको अध्यक्ष नारायणबहादुर जिसीको भनाइ छ । अध्यक्ष जिसीका अनुसार गाउँपालिकाले यस कार्यका लागि रु दुई करोड २५ लाख विनियोजन गरेको छ ।

सडकको ट्रयाक खोलेर स्तरोन्नति लागि गाउँपालिकाले मात्र नभई वडा कार्यालयले समेत मुख्य प्राथमिकतामा राखेर धेरै रकम सडकमै विनियोजन गरेका छन् ।

दुई दशकभन्दा बढी समयपछि स्थानीय तहमा जनप्रतिनिधि बहाल भएपछि निर्वाचनका समयमा आफूले गरेको प्रतिबद्धताबमोजिम अध्यक्षले रु ५० हजारदेखि दुई करोडसम्मका एउटै सडक योजनाका लागि रकम विनियोजन गरेको पाइएको छ ।

जिल्लाभित्रका बाँसटारी–झडेवा, हार्थोक–छहरा, आर्यभञ्ज्याङ– रामपुर यी तीन वटा मुख्य सडक जिल्ला विकास समितिले निर्माण गरेर स्तरोन्नति गरी कालोपत्रेसमेत गरिसकेको छ । सडकलाई सबै गाउँपालिका तथा नगरपालिकाका ग्रामीण बस्तीमा जोडिनका लागि स्थानीय तहले चालू वर्षमा रु ४२ करोड ६३ लाख २८ हजारभन्दा बढी रकम विनियोजन गरेका छन् ।

जिल्लाको सबै स्थानीय तहसम्म सडक सञ्जालले जोडिए पनि कच्ची सडकका कारण ट्रयाक खोलिएका सडकमा वर्षायाम शुरु हुनासाथ सवारीका साधन ठप्प हुने गर्दछन् । तीनै सडकमा बाह्रै महिना सवारीका साधन सञ्चालन गर्न सकिने गरी स्तरोन्नतिको पनि काम भएको गाउँपालिका अध्यक्षले बताउँछन् ।

प्राविधिकको नाप जाँच बिना नै सडक निर्माणका लागि धेरै बजेट विनियोजन गरेका कारण कार्यान्वयनमा समस्या परेको प्राविधिक बताउँछन् । केही गाउँपालिकाका अध्यक्षले सडक निर्माणका योजनामध्ये ठूला योजना आफू खुशी सञ्चालन गरेको पाइन्छ ।