कृषि

उत्पादन बढाउन कृषि औजारको प्रयोग

वीरगञ्ज । लगानी अनुुुुसारको उत्पादन नबढेपछि बारा र पर्साका किसानले उत्पादन बढाउन कृषि औजारको प्रयोग गर्ने थालेका छन् ।

लागतभन्दा बढी उत्पादन लिई आर्थिकरुपमा सबल बनाउने साइत जुराइ दिएको छ– वीरगञ्जस्थित कृषि औजार अनुसन्धान केन्द्रले ।

अहिलेको परिस्थितिमा श्रमिकको अभाव र लागत खर्च बढी भएकाले किसानलाई आत्मनिर्भर बनाउन नेपाल सरकारले कृषि औजार अनुसन्धान केन्द्र वीरगञ्जमार्फत अनुदानमा मेशिन उपलब्ध गराई ट्र्याक्टरमार्फत खेती गराउन थालिएपछि उत्पादन र उत्पादकत्वमा समेत बृद्धि भएको वरिष्ठ वैज्ञानिक तथा प्रमुख सचिनकुमार मिश्रले राससलाई बताए ।

न्यूनतम जोताइ प्रविधिबाट लगाइएको गहुँ र चारपाग्रे ट्र्याक्टरबाट चल्ने मकै लगाउने मेशिन किसानका लागि वरदान सावित भएको छ । पर्सा जिल्लाको पर्सागढी–१ मनवाका अगुवा किसान अनिरुद्घ चौधरीले न्यूनतम जोताइ प्रविधि र पावर टिलर मेशिनबाट गहुँ खेती गर्दा कम लगानीमा बढी उत्पादन लिन सकिने भएकाले यस वर्ष १५ कट्ठामा आधुनिक प्रविधिबाट गहुँ खेती गरिएको बताए ।

जितपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलका किसान दम्पती परमानन्द चौधरी र राजकुमारी चौधरीले यस वर्ष पाँच बिगाहामा मकै खेती गरेका छन् । त्यहाँका तीन जना किसानले सात बिगाहामा मकै खेती गरेका छन् । एमएन ९८१ जातको लहलहाउँदै मकै देखाउँदै चौधरी दम्पतीले भने– मेशिनबाट मकै खेती गर्दा सबै खर्च काटी प्रतिकट्ठा रु एक लाख नाफा हुने गरेको बताए ।

कृषि औजार अनुसन्धान केन्द्र वीरगञ्जले समय समयमा किसानलाई आधुनिक प्रविधिबाट खेती गरिएको ठाउँमा फिल्ड भ्रमण गराउने गरेको र मेशिनबाट गरिएको खेतीले उत्पादन राम्रो भएको देखेर बारा, पर्साका किसान मेशिनबाट खेती गर्नेतर्फ आकर्षित हुँदै आएको छ ।