समाचार

चारकोशे झाडीको रुख कटान रोक्का गर्न मुख्यमन्त्रीको निर्देशन

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पूर्वी तराईको चारकोशे झाडीमा रहेका रुख काटने कार्य तत्काल रोक्न निर्देशन दिएका छन् ।

वैज्ञानिक वन व्यवस्थापनको नाममा अन्धाधुन रुख काट्न थालिएपछि उक्त रोक लगाइएको हो ।

मुख्य मन्त्री राईले रुखहरू काट्न थालेपछि मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई तत्काल रुख काटने काम रोक्न निर्देशन दिए ।

चारकोशे झाडीमा रुख कटानको समाचार सार्वजनिक भएपछि कार्यालयका प्रमुख सचिव यादव कोइरालाले मुख्य मन्त्रीको निर्देशनमा तत्काललाई रुख काटन रोक लगाइएको जानकारी दिए ।

उनले वैज्ञानिक वन व्यवस्थापनका नाममा रुख कटान गर्न नपाइने भन्दै सरोकारवालासँग छलफल गर्न मुख्य मन्त्रीको कार्यालयमा आइतबार बैठक बोलाइएको जानकारी दिए ।

यसैगरी प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी नयाँ शैक्षिक सत्रबाट प्रत्येक निजी विद्यालयले अनिवार्यरुपमा १० प्रतिशत छात्रवृति दिनुपर्ने निर्देशन दिए ।

अन्र्तर्राष्ट्रिय उपभोक्ता दिवसका अवसरमा उपभोक्ता हित संरक्षण मञ्च नेपालले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले हालका लागि निर्देशन जारी गरिएको बताउँदै यहि चैत ७ गते बस्ने प्रदेश सभाबाट सोही अनुरुपको ऐन ल्याइने बताए ।

मन्त्री घिमिरेले निजी विद्यालयमा देखिएका बेथिति र विसंगति नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले विभिन्न निर्णयहरू गरेको जानकारी समेत दिए ।