अन्तर्राष्ट्रिय

भारतमा आगलागीमा परी १४ को मृत्यु

नयाँदिल्ली । भारतको दक्षिणी राज्य तामिलनाडुमा भएको एउटा आगलागीको घटनामा परी १४ जनाको मृत्यु भएको छ ।

आगोमा परेर जलेका मध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरी अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

अधिकांश कलेजका विद्यार्थी सहित आइतबार बेलुका झण्डै चालिस जना व्यक्ति पैदल यात्रामा रहेका बेला तामिलनाडुको थेनी जिल्लामा पर्ने कुराङ्गिनी पहाडमा आगलागी भएको हो ।

घटनास्थल राज्यको राजधानी चेन्नइदेखि झण्डै ५४० किलोमिटर टाढा पर्दछ ।

सुरुमा घटनास्थलमै मृत्यु भएका दश जनामध्ये सात जना महिला र तीन जना पुरुष रहेका थिए । अरु ३० जनालाई घटनास्थलबाट भारतीय हवाइ बलले उद्धार गरेको थियो ।

“उद्धार गरिएका मध्ये केहीको शरिरका अधिकांश भाग जलेको छ, ती मध्ये चार जनाको सरकारी अस्पतालमा उपचारको क्रममा निधन भएको छ,” एक जना उच्च प्रहरी अधिकृतले भने ।

आगलागीसँग सम्वन्धित एक जना तीस बर्षीय पर्यटक पथपर्दशकलाई प्रहरीले गिरफ्तार गरेको छ । आगलागीको स्पष्ट आधार नदेखिएकाले अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।