स्वास्थ्य

कुष्ठरोगी खोजी अभियान

कञ्चनपुर । कञ्चनपुरका छ वटा नगरपालिकामा कुष्ठरोगी खोजी निवारण अभियान सञ्चालन हुने भएको छ । महाकाली, भीमदत्त, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर र पुनर्वास नगरपालिकामा कुष्ठरोगी खोजी अभियान सञ्चालन हुन लागेको हो ।

चैत ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने अभियानका लागि गाउँ÷गाउँ पुगेर कुष्ठरोगी खोजी गर्न एक सय ४० स्वास्थ्यकर्मी र ६१८ महिला स्वास्थ्य स्वयंसेविका परिचालनका लागि तालीम दिइएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी हेमराज जोशीले बताए ।

“कुष्ठरोगी खोजी गर्न जाने दक्ष जनशक्तिलाई आवश्यक सामग्रीसहित परिचालन गर्न लागेका छौ”उनले भने– “कुष्ठरोगीको खोजी गरी अभियानको मुख्य उद्देश्य रोग निवारण गर्नु हो ।”

उपचारमा पहुँच पुग्न नसकेका, लुकेर बसेका र उपचारका बारेमा जानकारी नभएका रोगीलाई उपचारका लागि ल्याइने भएको छ । उपचारमा आएका नयाँ ५२ कुष्ठरोगीमध्ये ४७ जना उपचाररत छन् भने अन्य पाँचजना उपचारपछि रोग निको भई घर गएका छन् । विसं २०६६ मा नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । हाल तराईका केही जिल्लामा कुष्ठरोगको संक्रमण दर उच्च देखिएपछि खोजी अभियान सञ्चालन गरिएको हो ।