आर्थिक

नविल बैंकको प्रादेशिक कार्यालय पोखरामा

पोखरा । नविल बैंकले आफ्नो प्रादेशिक कार्यालय पोखरामा स्थापना गरेको छ । पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले आज कार्यालयको उद्घाटन गर्दै महानगरलाई स्वरोजगारको शहरका रुपमा विकास गर्ने योजना रहेको बताए ।

बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले नविल बैंकले आजै पोखराको न्यूरोड शाखाको प्रदेश नं ४ को प्रादेशिक कार्यालयका साथै तालचोक बगर र अमरसिंह चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको जानकारी दिए ।

बैंकका कावा प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिने र आगामी दिनमा देशभर नै शाखाको सञ्जाल बढाउँदै लगिने बताए ।

बैंकका नायब महाप्रबन्धक रमेशप्रसाद लोहनीका अनुसार बैंकले ६२ शाखाको बृहत् सञ्जाल, १०५ एटिएमका साथै एक हजार ५०० भन्दा बढी नविल रेमिट एजेन्टका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टमार्फत सेवा प्रवाह गर्दै अघि बढिरहेको छ । पोखरामा बैंकले विसं २०५३ देखि निरन्तर सेवा दिँदै आएको छ ।