पर्यटन/संस्कृति

धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम ओझेलमा

कमल खत्री म्याग्दी । बेनी नगरपालिका–३, भकिम्लीमा रहेको धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम क्षेत्र ओझेलमा परेको छ ।

करिब २०० वर्ष पुरानो इतिहास बोकेको स्वर्गाश्रम ऋषिमुनिले तपस्या गरी ज्ञानआर्जन गरेको ठाउँको रुपमा परिचित छ । समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा अवस्थित स्वर्गाश्रम प्राकृतिकरुपमा रमणीय र धार्मिक ऐतिहासिक महत्व बोकेको भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।

स्थानीय तवरबाट पूर्वाधार विकासमा पहल भइरहे पनि सरकारी तवरबाट यथेष्ट पहल हुन नसक्दा यो क्षेत्रको बारेमा प्रचारप्रसार हुन नसकेको वडासदस्य रत्नबहादुर जिसीले बताए ।

आश्रममा १२ वर्षसम्म तपस्या गरी बसेकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्ष अगाडि सञ्चालित महायज्ञबाट संकलन भएको दान रकमबाट गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा, आश्रम घर र तीर्थालु बस्ने सत्तल निर्माण गरिएको स्वर्गाश्रम व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका जिसीले बताए ।

“एकान्त र ज्ञान प्राप्त हुने भएकाले अहिले पनि तपस्वी तपस्या गर्न आउने गरेका छन्, आश्रमको नजीकै रहेको गुफामा सप्तऋषिले तपस्या गरेको किम्बदन्ती छ, स्वर्गाश्रमको दर्शन गरेमा मुक्तिनाथ, दामोदर कुण्डलगायत यस क्षेत्रका अन्य पाँच पवित्र तीर्थस्थलको दर्शन गरे बराबर हुने र मनोकामना पूरा हुने जनविश्वाससमेत रहेको छ”– स्थानीय युवा तारामिलन छन्त्यालले भने ।

अहिले दैनिकरुपमा पूजा हुने यस स्वर्गाश्रमबाट मनोरम हिमशृंखला र बेनी बजारसहित, दर्जनौँ गाउँबस्तीलाई समेत अवलोकन गर्न सकिन्छ । स्वर्गाश्रममा हरेक वर्षको वैशाख १ गते रथयात्रासमेत गरिँदै आइएको छ । पुरानो इतिहास बोकेको आश्रमको प्रचारप्रसार गरी पर्यटन विकास गर्नसकेमा यस क्षेत्रमा धार्मिक पर्यटकलाई भित्र्याउन सकिने स्वर्गाश्रम युवा क्लबका सचिव जीतबहादुर घर्तीले बताए ।

आश्रम नजिकै रहेको गुफामा धेरै तपस्वीले तपस्या गरेको इतिहास बोकेको यस क्षेत्रको प्रचारप्रसारसँगै पदमार्ग, आश्रमस्थललाई थप व्यवस्थित गर्ने, मन्दिर निर्माण गर्ने र ध्यान एवं तपस्या गर्ने व्यवस्थित थलो बनाउने योजनालाई बजेटका लागि पहल गरिरहेको स्वर्गाश्रम युवा क्लबका सल्लाहकारसमेत रहेका छन्त्यालले बताए ।

स्थानीयले स्वर्गाश्रमदेखि करिब एक घण्टाको पैदल दूरीमा रहेको बेलढुंगा र स्वर्गाश्रमलाई एकीकृतरुपमा धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्न अग्रसरता देखाएका छन् । भकिम्लीको मुसुङ र बागलुङको काठेखोला गाउँपालिकाको ओखलेको सिमानामा प्राकृतिक भ्युटावरका रुपमा रहेको बेलढुंगालाई प्रचारप्रसार तथा पदमार्गलगायतका पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने स्थानीयबासीको योजना छ ।