स्वास्थ्य

क्यान्सर पीडित मादेनलाई कोरियाबाट सहयोग

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–६ सुदापका क्यान्सर पीडित तोर्ण मादेनलाई दक्षिण कोरियामा कार्यरत नेपालीले रु दुई लाखभन्दा बढी रकम सहयोग गरेका छन् ।

सुदाप प्रवास सम्पर्क समितिमार्फत दक्षिण कोरियामा कार्यरत युवाको सक्रियतामा मादेनको उपचारका लागि रु दुई लाख ३२ हजार ६६१ सहयोग प्राप्त भएको हो ।

सो रकम बिहीबार शुक्रबारे बजारमा एक कार्यक्रमको आयोजना गरी पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । दक्षिण कोरियामा कार्यरत युवाबाट संकलन गरिएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको मादेन बचाउँ अभियानका अभियन्ता सन्तोष खेवाले बताए ।

उक्त रकम गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बू र मादेन बचाउँ अभियानका अभियन्ता गुमान खेवाले संयुक्तरुपमा पीडित परिवारलाई हस्तान्तरण गर्नुभयो । रोजगारीका लागि मलेशिया पुगेका मादेनलाई आन्द्राको क्यान्सर भएको छ ।

मादेनको उपचारका लागि यसअघि कतार, मलेशियालगायत विभिन्न देशमा कार्यरत युवाले सहयोग गरिरहेका छन् । मादेनका लागि यसअघि पनि रु दुई लाख ९८ हजारभन्दा बढी रकम सहयोग प्राप्त भइसकेको छ । मादेनको अहिले काठमाडौँस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।