समाचार

चेतनाको अभाव, डर र लाजले खुल्दैनन्, ग्रामीण महिला

तेह्रथुम । यौन तथा प्रजनन स्वास्थ्यबारे चेतनाको अभाव, डर र लाजका कारण जिल्लाका महिला अझै यौन तथा प्रजननजन्य रोग लुकाएर बस्न बाध्य छन् । नजिकका स्वास्थ्य संस्थामा पुरुष स्वास्थ्यकर्मी मात्रै हुने भएकाले त्यस्ता समस्या भन्न असजिलो हुने र भरपर्दो उपचार पनि नपाइने हुँदा ग्रामीण महिला त्यस्ता रोगका शिकार भइरहेका हुन् ।

रोगको संक्रमण भए पनि महिला स्वास्थ्य संस्थामा जाँदैनन् । आफूलाई यौनजन्य रोग लागेको कुरा अरूलाई थाहा होला कि भन्ने डरले उनीहरु उपचारका लागि स्वास्थ्य संस्थामा जानुको सट्टा रोग पालेरै बस्ने गरेका र पीडा खप्न नसक्ने भएपछि मात्रै स्वास्थ्य संस्थामा आउने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

लाज र डरका कारण महिलाले अझै पनि यौनजन्य रोग लिएर घरैमा बस्ने गरेको महिला अधिकारकर्मी कमला दर्नालले बताईन्। “सबै महिलालाई यौन तथा प्रजननजन्य रोगका बारेमा थाहा पनि छैन, आवश्यक परामर्श र सल्लाहका लागि दक्ष स्वास्थ्यकर्मी पनि गाउँमा हुँदैनन्,” उनले भनिन्, “परिवारलाई समेत थाहा नदिएर महिलाले त्यस्ता पीडा भोग्दै आएका छन् ।” सदरमुकाम म्याङलुङमा आयोजित ‘आङ खस्ने समस्या र यौन तथा प्रजनन अधिकार’ विषयक अन्तरक्रियामा सहभागी महिला अधिकारकर्मी र सरोकारवालाले जिल्लाका महिलामा प्रजननजन्य रोग र त्यसबाट पीडितको संख्या उच्च रहेको हुनसक्ने भएकाले सचेत हुनुपर्नेमा जोड दिए । उनीहरुले स्वास्थ्य संस्थामा यस्ता समस्या नआउने गरेको तथ्यांक सार्वजनिक भएपछि सूचना अभाव, लाज र डरका कारण महिलाले पीडा लुकाइरहेका पनि उल्लेख गरेका थिए ।

जिल्लामा गरिबी, अशिक्षा, बालविवाह, धुम्रपान, छोराको आसमा धेरै सन्तान जन्माउने, गर्भवती तथा सुत्केरी हुँदा राम्रो स्याहार र पोषिलो खाना उपलब्ध नहुने, गर्भवतीमा पारिवारिक हेरचाहको कमी, सुत्केरी भएपछि पनि शीघ्र यौन सम्पर्क, घरैमा हुने प्रसूतिलगायत कारणले महिलामा यौन तथा प्रजनन अंगसँग सम्बन्धित रोगको संक्रमण बढ्दै गएको स्वास्थ्यकर्मीहरूको भनाइ थियो । जिल्लाका महिलामा आङ खस्ने, पाठेघर खस्ने, पाठेघरको क्यान्सर, सेतो पानी बग्नेलगायत यौन र प्रजननजन्य रोगको संक्रमण उच्च देखिएको जिल्ला स्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहले बताए । “जिल्लामा त्यस्ता रोगको उपचारका लागि छुट्टै उपचार कक्ष छैन र छुट्टै स्वास्थ्यकर्मी पनि छैनन्, त्यसैले यस्ता समस्या लिएर स्वास्थ्य संस्था आउनेको संख्या पनि कम छ तर जिल्लामा यौन र प्रजननजन्य रोगबाट पीडित महिलाको संख्या उच्च छ” उनले भने ।

डा शाहका अनुसार जिल्ला अस्पतालमा पाठेघर तथा यौनजन्य रोगको निदानका लागि छुट्टै कक्ष छैन । दैनिक सञ्चालन हुने ओपीडीमा नै महिलाले त्यस्ता समस्याबारे बताउनुपर्छ । ओपीडीमा बस्ने प्रायः सधैँ पुरुष चिकित्सक हुन्छन् । तैपनि जिल्ला अस्पतालमा अहिलेसम्म २५ जनाले मात्रै पाठेघर खस्ने समस्याका कारण रिङ प्रेसरी लगाएका छन् । एकजनाको शल्यक्रियाका लागि कोशी अञ्चल अस्पतालमा पठाइएको छ ।
पाठेघर खस्ने समस्याको जिल्लामा शल्यक्रिया हुँदैन । रिङ प्रेसरी लगाउने स्वास्थ्यकर्मीसमेत जिल्ला अस्पताल बाहेकका स्वास्थ्य संस्थामा छैनन् । गाउँ–गाउँमा रहेका स्वास्थ्य चौकीमा समेत पुरुष स्वास्थ्यकर्मीको संख्या उच्च भएकाले महिलाले त्यस्ता समस्या लिएर कमै मात्र आउने गरेका जिल्ला स्वास्थ्य कार्यायलका सूचना अधिकारी लभरेन्ज शाहले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयले केही वर्षयता निरन्तर पाठेघर खस्ने रोगका बिरामीका लागि घुम्ती शिविर आयोजना गर्दै आएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले तीन वर्षयता गर्दै आएको शिविरमा आएका २३१ महिलामध्ये २७ जनाको पाठेघरको शल्यक्रिया भएको छ भने २५ जनाले रिङ प्रेसरी लगाइरहेका छन् । बाँकी २०४ जनामा भने सेतोपानी बग्ने, पिसाब चुहिनेजस्ता समस्या देखिएको जनस्वास्थ्य प्रमुख डा शाहले बताए ।
एक साताअघि आठराई गाउँपालिकामा आयोजित एक शिविरमा पाठेघरको समस्या लिएर आएका १९ महिलामध्ये ६ जनालाई रिङ प्रेसरी राखिएको थियो । बाँकीमध्ये केहीलाई शल्यक्रियाका लागि पठाइएको र केहीको प्राथमिक उपचारपछि मात्रै रिङ प्रेसरी राख्ने गरी औषधि दिइएको थियो । शिविरमा आएकामध्ये अधिकांश पाठेघरमा बढी नै पीडा भएका मात्रै रहेका प्राथमिक स्वास्थ्य केन्द्र सङ्क्रान्तिबजारका डा सन्तोष शाहले बताए ।

“सबैको पाठेघरमा समस्या देखियो, हामीले प्राथमिक उपचारदेखि शल्यक्रिया सम्मका लागि परामर्श ग¥यौँ,” उनले भने, “अधिकांशको सुत्केरी हुँदा खानपानको अभाव, आरामको अभाव, महिनावारीमा सरसफाइको समस्यालगायत कारणबाट इन्फेक्सन भएको छ ।” उनले गाउँका महिलाले सुत्केरी भएका बेला आराम गर्न नपाउने, घरैमा असुरक्षित ढंगले सुत्केरी गराउने, गर्भवती हुँदा गह्रौँ भारी बोक्नेलगायतका समस्याका कारण पाठेघरमा समस्या भएको पाइएको बताए ।
गाउँका आमा दिदीबहिनी प्रसूति भएको महिना दिन नबित्दै काममा लाग्नुपर्छ, खानपिन र सरसफाइ पनि मिल्दैन,” डा.शाहले भने, “त्यसैले आमा दिदीबहिनीको पाठेघरमा छिट्टै सङ्क्रमण हुने गर्छ । गाउँका महिलाले पाठेघरसम्बन्धी समस्या खुलेर नभन्ने र रोग लुकाएर बस्ने गरेकाले यससम्बन्धी सबै पुरुषलाई सचेत गराउनु जरुरी रहेको उनले जोड दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा २८।३ प्रतिशत गर्भवती महिलाले मात्रै स्वास्थ्य संस्थामा आएर प्रसूति गराउँछन् तीमध्ये २४.१७ प्रतिशतले मात्रै प्रसूति भएपछि पनि निरन्तर स्वास्थ्य जाँच गराउँछन् । यी तथ्यांकका आधारमा पनि जिल्लामा पाठेघरसम्बन्धी समस्या उच्च भएको जिल्ला स्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहको दाबी थियो ।
पाठेघरको शल्यक्रिया गर्ने सरकारी स्वास्थ्य संस्था पूर्वी नेपालमा दुई वटा मात्रै छन् । कोशी अञ्चल अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया हुदै आएकाले पीडित महिलालाई ती अस्पतालमा पठाइने गरिएको डा शाहले बताए ।