कृषि

सिँचाइ सुविधा भएपछि बाह्रै महिना खेती

बाबियाचौर, म्याग्दी । मालिका गाउँपालिका–६ दुखुबेसीका गंगे रोकाले कात्तिकको अन्तिम साता खेतमा लगाएको गहुँ भित्र्याएर यसै साता मकै रोपे । विगतका वर्षमा आकाशे पानीको भरमा हिउँद र बर्खा याममा दुई बाली लगाउने गरेका रोकाले यसपालि सिँचाइ सुविधा भएपछि खेतमा तीन बाली लगाउन पाएका हुन्।

रोका मात्र होइन दुखुबेसीका करिब दुई सय घरधुरी असोजदेखि आकाशे वर्षा नभएपछि जिल्लाका अन्य ठाउँका कृषकलाई जस्तो कसरी खेतीबाली लगाउने भन्ने चिन्ताबाट मुक्त भएका छन् । सिँचाइ विकास सव डिभिजन कार्यालय म्याग्दीले दुखुखोला सिँचाइ आयोजना निर्माण गरेपछि दुखुबेसीको खेतबारीमा बाह्रै महिना नियमित सिँचाइ सुविधा पुगेको हो ।

आयोजनामार्फत दुई सयभन्दा बढी घरधुरीको २५ हेक्टर जमीनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष लालबहादुर पुनले बताए । यसअघि कच्ची नहरबाट पानी ल्याउँदा पानी चुहिएर सिँचाइ गर्न पालो लगाउनुपर्ने समस्या थियो ।

नहर निर्माण भएपछि पानी लगाउनका लागि हुने विवाद हटेको छ । फलफूल र तरकारीको व्यावसायिक खेती गरेर आम्दानी गर्ने वातावरण बनेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । ठेक्कामार्फत गत आवदेखि निर्माण शुरु भएको आयोजना लक्ष्यभन्दा पाँच महिनाअघि नै सम्पन्न भएको छ ।

आगामी असार महिनासम्ममा आयोजना सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले माघमै काम सकेको सवडिभिजन प्रमुख इन्जिनियर दिनेश आचार्यले बताए । समुदायको सहयोग, निर्माण व्यवसायीको सक्रियता र कार्यालयको समन्वयका कारण लक्ष्य अघि नै काम सकिएको उनको भनाइ छ ।

उक्त आयोजनामार्फत ७६५ मिटर नहर निर्माण गर्नका लागि रामकृष्ण कन्सट्रक्सनसँग रु ३० लाख ५५ हजारमा ठेक्का सम्झौता भएको थियो । मुख्य नहर बने पनि शाखा नहर र पाइप लाइन विस्तारको आवश्यकता देखिएको दुखुबेसीका कृषकले बताएका छन् ।

आचार्यले उपभोक्ता समितिमार्फत शाखा लाइन विस्तार गर्ने योजना बनाए पनि यस वर्ष बजेट कटौतीका कारण समस्या भएको बताए । उपभोक्ता समितिमार्फत रु १२ लाखको काम गर्ने योजना बनाइए पनि बजेट नआएपछि स्थगित गरिएको उनको भनाइ छ ।