पु.समाचार

सींगो गाँउ नै एउटा धाराको भरमा, गाउपाकिाका अध्यक्ष के हेर्छन् ?

बागलुङ । तमानखोला गाउँपालिका–५ खुङ्खानीका बासिन्दा वर्षौंदखि खानेपानीको समस्या भोग्न बाध्य छन् । फागुनदेखि जेठसम्मको सुख्खा याममा सिङ्गो टोल एउटा धारामै भर पर्दै आएका छन् । खानेपानी लिन घण्टौँसम्म पालो पर्खनुपर्ने बाध्यता रहेको स्थानीय टीका परियारले बताए । “हिउँदमा गाउँका अधिकांश धारा सुक्छन्” उनले भने, “एक/दुईवटा धारा चल्ने हुँदा खानेपानीको जोहो गर्नै गाह्रो छ ।”

तीन सय घरधुरी रहेको खुङ्खानीमा एकमात्र मुनाखोला खानेपानी आयोजना चालु छ । हिउँदमा आयोजनाको मुहान सुक्ने हुँदा गाउँमा खानेपानीको अभाव हुँदै आएको हो । वर्षायाममा भने खानेपानीको समस्या हट्ने वडा सदस्यसमेत रहेकी परियारको भनाइ छ । स्थानीय मायाकुमारी पुनले भने “बिहानै धारामा लाम लाग्छ, बेलामा पालो नपाउँदा गृहिणीले खानेपानी समस्याबाट बढी दुःख झेल्नुपरेको छ ।”

कतिपयले आफू नभए पनि धारामा गाग्रीको पालो लाउने गरेका छन् । एक घर, एक धारा हुनुपर्नेमा खुङ्खानीवासीको अवस्था भने ठीक उल्टो छ । वडाध्यक्ष हीराबहादुर विकले नयाँ आयोजना नबनेसम्म समस्या रहिरहने बताए । उनका अनुसार आयोजना बनाउन मुहानको खाँचो भने छैन । हिउँदमा पनि नियमित चल्ने मुहानबाट नयाँ आयोजना बनाउन सकिने छ ।

यसअघि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले कुनाखोरे मुहानबाट आयोजनाको सर्भेक्षण गरे पनि काम अघि बढ्न सकेको छैन । आयोजना बनाउने कुरा आश्वासनमा सीमित भएको वडाध्यक्ष विकको भनाइ छ । स्थानीय सरकारका रुपमा गाउँपालिका बनेपछि खानेपानी समस्याबाट मुक्ति पाउने आशामा गाउँले छन् ।

गाउँपालिकाले यो वर्ष खानेपानी आयोजना मर्मतका लागि थोरै बजेटमात्र छुट्याएको छ । आउँदो वर्ष नयाँ आयोजना निर्माणका लागि बजेट व्यवस्था गर्ने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए ।

“प्राविधिक अध्ययनको काम शुरु भएको छ, आगामी वर्ष नयाँ आयोजना बन्छ”, अध्यक्ष बुढाले भने । खुङ्खानी मात्र नभएर गाउँपालिकाका अन्य वडामा पनि खानेपानीको समस्या रहेको उनको भनाइ छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभान पनि खानेपानीको समस्याबाट गुज्रिरहेको छ ।