राजनीति

गृहमन्त्री थापासँग अमेरिकी राजदूत भेट

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिज्ले आज शिष्टाचार भेटवार्ता गकी छन् ।

गृहमन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपाल र अमेरिकाबीच ७० वर्षअघिदेखि कूटनीतिक सम्बन्ध रहिआएको बताउँदै यो अवधिमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्दै गएको बताए ।

उनले नेपालको विकास तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद दिए ।

अमेरिकी राजदूत टेप्लिज्ले नेपालको गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेकोमा मन्त्री थापालाई बधाई दिँदै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरे ।

उनले मानव तस्करी नियन्त्रण र भुटानी शरणार्थी एंव तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा पनि कुरा राखेका थिए ।

यस्तै अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको तथा अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्नेलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

सो अवसरमा मन्त्री थापाले ती विषयहरु मन्त्रालयले अध्ययन गरिरहेको र सोही आधारमा भविष्यमा निर्णय लिइने जानकारी गराए ।