समाचार

व्यापक र स्तरीय अनुवाद हुनुपर्नेमा जोड

काठमाडौँ । नेपाली साहित्यलाई विश्वस्तरमा पु¥याउन र विश्व साहित्यबाट लाभ लिन व्यापक तथा स्तरीय अनुवाद हुनुपर्नेमा एक विचार गोष्ठीका वक्ताहरुले जोड दिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानको अनुवाद विभागले बुधबार यहाँ आयोजना गरेको अनुवाद विचारगोष्ठीका सहभागी वक्ताहरुले सो आवश्यकता औँल्याएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले हाम्रो साहित्य उत्कृष्ट भएपनि राम्रो अनुवाद हुन नसक्दा अन्तर्राष्ट्रियस्तरमा पुग्न नसकेको र नोबेल पुरस्कारजस्ता ठूला पुरस्कार प्राप्त गर्न नसकेको पनि बताए ।

उनले अनुवाद भएर मात्र हुँदैन सरल र उत्कृष्ट पनि हुनुपर्ने बताउँदै साहित्यकार डायमण्ड शमशेर राणाको ‘सेतो बाघ’को अनुवाद ग्रेटा राणाले उत्कृष्टरुपमा गरेकाले नै यसको अन्य भाषामा पनि अनुवाद हुन सकेको उदाहरण प्रस्तुत गरे ।

उनले अंग्रेजीबाट नेपालीमा भन्दा पनि नेपालीबाट अंग्रेजी भाषामा नेपाली साहित्यलाई लैजानुपर्ने आवश्यकता रहेको पनि औँल्याए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले अनुवाद गर्नाले नै रुसी साहित्य विश्वमा पुगेको बताउदै नेपालका अनुवादमा जटिलता र स्रोतको कमी हुनुका साथै विभिन्न मातृभाषाबाट पनि नेपालीमा पनि अनुवाद गर्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रमका सभापति तथा प्राध्यापक डा अभि सुवेदीले आफूले विदेशमा जाँदा बंगलादेश तथा जापानमा राम्रो पठन संस्कृतिको अनुभव गरेको बताउँदै नेपालमा भने यहाँको साहित्य पर्याप्त मात्रामा अनुवाद हुन नसकेको बताए ।

उनले जर्मनीमा संस्कृत भाषाबाट पनि अनुवाद हुन थालेपछि नै अंग्रेजी भाषा पनि बाहिरी संसारमा विस्तार हुँदै गएको बताए । उनले प्रज्ञाको अनुवाद विभागले थोरै बजेटबाट पनि प्रशंसनीय काम गरेको बताए ।

प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरेले विश्वको ज्ञान आर्जन गर्ने हो भने अनुवाद अपरिहार्य रहेको बताउँदै नत्र हाम्रो साहित्य आफ्नै टापुमा साँघुरिएर मर्ने पनि बताए ।

विभागका संयोजक उषा ठाकुरले थोरै बजेटबाट पनि मितव्ययी ढंगबाट उपयोगी काम गरेको बताउँदै वाङ्मय शताब्दी पुरुष जस्ताको प्रस्तुतिबाट अनुवादको विराटस्वरुप प्रकट भएजस्तो भएको बताए ।

कार्यक्रममा प्रा डा गोविन्दराज भट्टराईले अनुवाद विभागले अनुवादसम्बन्धी महत्वपूर्ण कार्य गरेको बताउँदै आफ्नै सम्पादकत्वमा नेपाली अनुवादक कोश तयार हुँदै गरेको र आफूले भारतका आसामसम्मको भ्रमणबाट धेरै अनुदित कृतिहरुको विवरण प्राप्त गरेको बताए ।

विभागका संयोजक प्रा डा उषा ठाकुरले आजको युग अनुवादको युग भएको बताउँदै नेपाली भाषा साहित्यलाई विश्वस्तरमा पु¥याउन अनुवाद आवश्यक भएको बताए । उनले विभागबाट हालसम्म नौवटा अनुवाद कृति प्रकाशित भइसकेको पनि बताए ।

कार्यक्रममा ‘नेपालीमा अनुदित अंग्रेजी साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गर्ने त्रिविका उपप्राध्यापक बलराम अधिकारीले नेपालीमा अनुवादको प्रमुख स्रोत अंग्रेजी भएको बताउँदै हाल नेपाली अनुवादकहरु अंग्रेजी केन्द्रित हुँदै गएको बताए ।

अघिल्ला चरणमा संस्कृत, बंगला, हिन्दी भाषाबाट हुने गरेकोमा हाल निजी प्रकाशनगृह अंग्रेजी साहित्यको अनुवादमा सक्रिय भएको पनि उनले बताए ।

कार्यक्रममा अर्का कार्यपत्र प्रस्तुतकर्ता डा रामदयाल राकेशद्वारा तयार गरिएको कार्यपत्र ‘नेपालीमा अनुदित हिन्दी साहित्य’मा उनको अनुपस्थितिमा प्रा डा भट्टराईले टिप्पणी गरेका थिए ।

सो कार्यक्रमका प्रतिवेदक बलराम अधिकारी र त्रिभुवनचन्द्र वाग्ले हुन् ।