समाचार

नार फुको च्याखु गोठमा सिमित ७७ वर्षीया आनीको संसार

नवीन लामिछाने/नार फु, मनाङः नेपालमा थुप्रै परिवर्तन भए र हुँदै आएका पनि छन् । महिला अधिकारका चर्का नारा र भाषणले कति सडक तताइएका पनि छन् ।

हिजोआज हाम्रो देशका महत्वपूर्ण ठाउँमा नारीको राम्रै उपस्थिति रहेको पाइन्छ भने सरकारले पनि महिलालाई प्राथमिकताका साथ अवसर दिँदै आएको छ । नियम कानून पनि निर्माण भएका छन् ।

तर दूरदराजमा रहेकी एक वृद्वा आनी छोमा लामालाई सरकार के हो भन्ने कुरा समेत थाहा छैन । मनाङको नार फु गाउँपालिका च्याखुको लेकमा रहेको सानो गाईगोठमा दुःखले जीवन बिताउँदै आएकी ७७ बर्षीया आनी छोमा लामा नेपाली राम्रोसँग बोल्न पनि जान्दिनन् ।

उनलाई तिव्बतबाट भागेर लुक्न आएका खम्पा विद्रोहीहरुले दिएको पीडा राम्रोसँग थाहा छ । आफू जन्मिएको घर देखाउँदै उनले भनिन् “हामी यही घरमा जन्मिएका हौँ । तिव्बतबाट भागेर आएका खम्पाले हामीलाई धेरै दुःख दिए । हामीले बनाएको घर भत्काए । चौँरी मारे, दिदीबैनीलाई नराम्रो व्यवहार पनि गरे ।”

सानैबाट दुःख भोगेकाले आजसम्म पनि दुःखमा नै रमाउन सकेको छु, उनी भन्छिन्, “पहिला चौँरी पालेकी थिएँ, चौँरीले राम्रो फाइदा दिएन र अहिले लुलु गाई पालेकी छु । यिनीहरु डुलाएर दिन काटेकी छु ।”

मनाङ जिल्ला सदरमुकाम चामेभन्दा तल नझरेकी छोमा लामालाई मनाङमा मोटर आएको पनि थाहा छैन । बाटो बनेको छ, मोटर चल्छ नि भन्दा खै कुन्नि, मलाई त थाहा छैन भन्दै निधार खुम्चाउँछिन् ।

विवाहसम्म नगरेकी आनी छोमा हाल बहिनीसँग बसेकी छिन् । आफ्ना भनेकै यिनै दुई बहिनी रहेको बताउँदै उनीहरुकै साथमा र आडभरोसामा रहेको उनले बताइन् ।