समाचार

ग्रामीण सडक अलपत्र, सर्वपक्षीय बैठकले दियो कारबाहीको चेतावनी

भोजपुर । ठेकेदार भागेपछि भोजपुरका ग्रामीण सडक अलपत्र अवस्थामा रहेका छन् । डेनमार्क सरकारको अनुदानमा उन्नति परियोजनाद्वारा सञ्चालित भोजपुर—टक्सार—गुम्बा हुँदै कोट र गोगनेसम्म जाने सडकका ठेकेदार भागेपछि सडक झन् अलपत्र बनेको हो ।

सोही सडकको ठेकेदार देवजंग शाही भागेको भन्दै स्थानीय आक्रोशित भएपछि भोजपुर सदरमुकाममा आज बसेको सर्वपक्षीय बैठकले ठेकेदार सात दिनभित्र उपस्थित नभए कारबाही गर्ने निर्णय गरेको छ ।

जिल्लास्थित स्थानीय सरकारका प्रमुख, राजनीतिक दललगायतको सर्वपक्षीय बैठकले सात दिनभित्र ठेकेदार उपस्थित भई काम शुरु नगरे ठेकेदारलाई कारबाही गर्ने र उक्त ठेक्काको काम उपभोक्तामार्फत गर्ने निर्णय गरिएको भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेले जानकारी दिए ।

एमके वाइपिजेभी निर्माण कम्पनीले २०१६ जुन १६ मा ठेक्का सम्झौता गरेको थियो । करिब रु १० करोडकोे ठेक्कामा हालसम्म १३ प्रतिशत मात्र काम भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । बाँकी ८७ प्रतिशत काम भने अबको दुई महिनामा सम्पन्न गरिसक्नु पर्ने भएको छ ।