समाचार

स-साना नानी छाडेर नगदसहित श्रीमती बेपत्ता, श्रीमानको बिचल्ली

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७, झण्डाबोझकी २८ वर्षीया पुजा चौधरी नगद तथा गहनासहित बेपत्ता भएपछि ससाना बालबालिकाको विजोग भएको छ ।

श्रीमान् मजदूरी गर्न भारतमा गएका बेला ससाना बालबालिका छाडेर चौधरी बेपत्ता भएपछि बालबालिकाको विजोग भएको हो । फागुन १९ गते नगद रु ५० हजार र सुनको तिलहरी लिएर उनी बेपत्ता भएको उनका श्रीमान् वीरबहादुर चौधरीले बताए ।

भारतबाट आएकै राति घरबाट नगद रकम र सुनको तिलहरी लगेर बेपत्ता भएको उनले बताए । सम्भावित धेरै ठाउँमा खोजतलास गर्दासमेत फेला पार्न नसकेको उनको भनाइ रहेको छ ।

छ वर्षको छोरालाई छाडेर बेपत्ता भएपछि निकै अप्ठरो परेको उनले दुखेसो पोखे । “भारतमा छ महिना कमाएको पैसा पठाएको थिएँ, घरमा पुग्दा न त श्रीमती भेटिइन्, नत पठाएको रकम” उनले भने । खोजतलास गर्दा नभेटेपछि प्रहरीलाई गुहारेको उनले बताए ।

यसैगरी, केही महिना अघि छिमेकी गाउँकी एक महिलासमेत बालबालिकासहित बेपत्ता भएकी थिइन् । हालसम्म उनको समेत पत्तो लाग्न सकेको छैन ।