समाचार

खरको छानो भएकालाई जस्तापाता

रामपुर, पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकामा खरको छानोरहित घर निर्माण कार्य शुरु भएको छ । गाउँपालिकाले खरको छानो भएका घरधुरीलाई जस्तापाता अनुदानमा वितरण कार्य गरेपछि खरको छानो भएका घरमा जस्तापाता लगाउने कार्य भइरहेको छ ।

गाउँपालिकामा आव २०७४/०७५ लागि रु १५ लाख रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । “अबको दुई वर्षभित्रमा गाउँपालिकालाई पूर्ण खरको छानोरहित गाउँपालिका घोषणा गर्ने गरी यस वर्ष ५५ घरधुरीलाई छनोट गरेर अनुदानस्वरुप जस्तापाता उपलब्ध गराएका छौँ” उनले भने ।

गाउँपालिकाको वडा नं १ मा सात घर, २ मा सात घर, ३ मा दुई घर, ४ मा १४ घर, ५ मा आठ घर, ७ मा सात घर, ८ मा सात घर र ९ मा तीन घरधुरी गरी जम्मा ५५ घरधुरीलाई प्रतिघरधुरी तीन बण्डल जस्तापाता वितरण गरिएको अध्यक्ष बस्यालले बताए ।

गाउँपालिकाभित्र खरका छाना भएका २५५ घरधुरीलाई जस्तापाता अनुदानका लागि छनोट गरिएको छ । आगामी आवमा गाउँपालिकाले रु ५० हजार रकम विनियोजन गरेर गाउँपालिकालाई पूर्ण खरको छानोरहित गराउने गरी विशेष प्राथमिकताका साथ लागेको जनप्रतिनिधिले बताएका छन् ।

यस वर्ष छनोटमा परेका घरधुरीले अनुदानबापत जस्तापाता बुझेको एक महिनाभित्रमा घरमा जस्तापाताले छाउनुपर्ने नियम रहेको गाउँपालिकाले जनाएको छ । साथै, जस्तापाता ढुवानीसमेत गाउँपालिकाले आफैँ गरेपछि स्थानीयवासीलाई सजिलो भएको छ ।