शिक्षा

एसइई परीक्षामा पाँच हजार ८०० विद्यार्थी

बैतडी । यस वर्षको एसइई परीक्षामा बैतडीमा पाँच हजार ८०० बढी परीक्षार्थी सहभागी हुने भएका छन् । यही चैत ८ गतेदेखि शुरु हुने उक्त एसइई परीक्षामा दुई हजार ७३६ छात्र र तीन हजार १५८ छात्रा गरी पाँच हजार ८९४ परीक्षार्थी सामेल हुने जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शंकरदत्त जोशीले जानकारी दिए ।

तीमध्ये नियमिततर्फ दुई हजार ५७३ छात्र, दुई हजार ८१६ छात्रा गरी पाँच हजार ३८९ परीक्षार्थी सहभागी हुने भएका छन् भने १६३ छात्र र ३४२ छात्रा गरी ५०५ जना एक्जाम्टेडतर्फ र ८८ जना प्राविधिकतर्फ परीक्षार्थी सहभागी हुने जनाइएको छ ।

ती परीक्षार्थीका लागि बैतडीमा २५ केन्द्र नियमित र दुई केन्द्र एक्जाम्टेडका गरी जम्मा २७ वटा परीक्षा केन्द्र कायम गरिएको छ । एक्जाम्टेडका लागी सदरमुकामस्थित शाहिलेकमा रहेको वीरेन्द्र मावि ‘ख’ र पाटनमा रहेको पाटन भ्याली बोर्डिङ स्कूललाई परीक्षा केन्द्रका रुपमा तोकिएको विद्यालय निरीक्षक जोशीले बताए ।

एसइई परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ । केन्द्राध्यक्ष तोकिसकेको र बुधबारदेखि उत्तर पुस्तिका ढुवानी गरी केन्द्रमा पु¥याउने काम भइरहेको विद्यालय निरीक्षक जोशीले जानकारी दिए । एसइई परीक्षा निर्देशिका तथा केन्द्राध्यक्ष निर्देशिका पुस्तिकाअनुसार मावि तहका प्रधानाध्यापक तथा शिक्षकलाई केन्द्राध्यक्ष तोकिएको बताइएकोे छ ।

परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षको यही चैत ४ गते एकदिने अभिमुखीकरण कार्यक्रम राखिएको छ । उक्त अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारीले परीक्षालाई स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि केन्द्राध्यक्षलाई निर्देशन दिने जनाइएको छ ।

यसैबीच, यसबर्ष बैतडीमा एसइई परीक्षाका लागि १५२ जना विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका तथा समयमै शुल्क नतिरेका, बीचमै विद्यालय छोडेका ती विद्यार्थी परीक्षाका लागि अयोग्य भएका जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ ।