राजनीति

आतंककारी गतिविधिलाई मत्थर पार्न कडा कानूनी संरचना आवश्यकः अर्थमन्त्री खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले सबै प्रकारका आतंककारी गतिविधिलाई मत्थर पार्न कडा कानूनी संरचनाको आवश्यकता रहेको बताएका छन् ।

भारतको गुरगाउँमा आयोजित प्रति–आतंकवादसम्बन्धी चौथो सम्मेलनको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले आतंकवादले जनधनको नाश गर्ने मात्र नभई मानव सभ्यता र यसका मूल्यहरु नै नामेट गर्नसक्ने बताए ।

उनले आतंकवाद एक खास समाज, राष्ट्र र क्षेत्रमा सीमित नरही विश्वव्यापी समस्याका रुपमा रहिआएको र यसले हरेक सिमाना र हरेक समाजलाई एक न एक ढंगबाट प्रभाव पारिरहेको बताए ।

आतंकवादको स्वरुप बदलिएको प्रसंग अघि सार्दै उनले भने, “सुरक्षा चुनौतीसँग सामना गर्ने प्रविधि र क्षमतामा बढोत्तरी आए पनि जोखिम पनि त्यत्तिकै रहेको छ ।”

“आतंकवादले समाजको प्रगति, राष्ट्रको विकास, मानवीय विशेषता र बान्धुत्वमा खलल पु¥याउने गर्छ,” उनले भने ।

आतंकवादसँग जुध्ने नेपालको राष्ट्रिय क्षमता र तयारीबारे जानकारी दिँदै उनले प्रति–आतंकवादसम्बन्धी अन्तर्राष्ट्रिय र क्षेत्रीय सन्धिहरुमा हस्ताक्षर गरेको र कार्यान्वयन पनि गर्दैआएको उल्लेख गरे ।

“काठमाडौैँमा आयोजित तेस्रो सार्क शिखर सम्मेलनको निचोडका रुपमा आतंकवाद नियन्त्रणसम्बन्धी सार्क महासन्धि अस्तित्वमा आएबाट नेपाल आतंकवादविरुद्धको साझा अभियानमा सक्रियतापूर्वक लागेको प्रष्ट हुन्छ,” उनले भने ।

भारतको गृह मन्त्रालय र हरियाणा प्रान्तीय सरकारको सहयोगमा नयाँ दिल्लीस्थित स्वतन्त्र बुद्धिजीवीहरुको संस्था इन्डियन फाण्डेशनले यो सम्मेलन हरेक वर्ष आयोजना गर्ने गर्छ ।

अर्थमन्त्री खतिवडा आजै दिउँसो नयाँ दिल्ली पुगेका हुन् ।