आर्थिक

बाजुराका स्थानीय तहमा बैंक छैनन्

बाजुरा । जिल्लाका ६ वटा स्थानीय तहमा अझै बैंक स्थापना हुन सकेको छैन । बैंक नहुँदा उत्तरी भेगका गाउँपालिकाका बासिन्दाले सास्ती भोग्दै आएका छन् ।

बैंक स्थापना नहुँदा ग्रामीण क्षेत्रका नागरिक सदरमुकाम मार्तडी धाउन बाध्य छन् । हिमाली, जगन्नाथ, स्वामीकार्तिक, गौमूल, छेडेदह गाउँपालिका र त्रिवेणी नगरपालिकामा बैंकको शाखा स्थापना हुन नसक्दा त्यहाँका जनप्रतिनिधि र स्थानीय बासिन्दा सदरमुकाम धाउन बाध्य भएका हुन् ।

सरकारले यसअघि नै स्थानीय तहमा विभिन्न बैंकका शाखा स्थापना गर्ने भने पनि बैंक नहुँदा सास्ती हुने गरेको कारोबार गर्न सदरमुकाम आउनुभएका हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए ।

यस्तै स्थानीय तहले उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने योजनाको खाता सञ्चालनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता कायमै रहेको बूढीगंगा नगरपालिका–३ का जय पाध्यायले बताए।

बैंकमा खाता खोल्नका लागि बढी पैसा खर्च हुने गरेको त्रिवेणी नगरपालिका–४ की मन्धरा साउदले बताउनुभयो । गत साउनमै स्थानीय तहमा बैंक स्थापना हुने भनिए पनि यहाँका स्थानीय तहमा बैंक स्थापना हुन सकेको छैन ।

स्थानीय तहमा बैंक नहुँदा गाउँपालिका र नगरपालिकाले गर्ने हरेक काममा समस्या भएको गौमूल गाउँपालिका इञ्जिनियर वीरेन्द्र रोकायाले बताए । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सास्ती भएको छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले बताए ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल बैंकको कामका लागि दुई दिन पैदल हिँडेर सदरमुकाम आउन बाध्य भएको बताउछन् । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ ।

खाता खोल्नका लागि उपभोक्ता समितिका पदाधिकारीलाई सदरमुकाम पठाउनुपर्ने बाध्यता रहेको स्वामीकार्तिक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुवेर शाहीले बताए । बूढीनन्दा नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक र बूढीगंगा नगरपालिकामा सिद्धार्थ बैंकको शाखा स्थापना गरिएको बूढीनन्दा नगरपालिका प्रमुख दीपकविक्रम शाहले बताए । सदरमुकाममा रहेको बडीमालिका नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, एनआइसी, सेन्चुरीलगायत बैंकका शाखा सञ्चालनमा छन् ।