समाचार

विवाह भोजको रकमले विद्यालयमा अक्षयकोष

फलेवास, पर्वत । पछिल्लो समय विवाह समारोहमा भोजभतेरका लागि लाखौँ रुपैयाँ खर्च गर्ने प्रचलन बढ्दै गएको छ ।

भोजलाई मानिसले प्रतिष्ठाको विषय नै बनाउने गरेका छन् । तर यहाँका एक युवाले विवाह भोजमा गरिने खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

पर्वतको कुश्मा नगरपालिका–१२ का युवा मिलन पौडेलले सोमबार भएको आफ्नो विवाहको भोजको रकमले स्थानीय जनता सुदर्शन उच्च माविमा रु एक लाख बराबरको अक्षयकोष स्थापना गरेका छन् । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले भोज नगरीकन स्कूललाई सहयोग गरेको उनले बताए ।

मंगलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उहाँले उक्त रकम विद्यालयका प्रधानाध्यापक मेघनाथ आचार्यलाई हस्तान्तरण गरेका छन् । सामाजिक सेवामा क्रियाशील युवाको संस्था रोट्र्याक्ट क्लब अफ पर्वतका पूर्वअध्यक्षसमेत रहनुभएका पौडेलले रोट्र्याक्ट सप्ताह–२०१८ कै अवसर पारेर सो रकम सहयोग गरेका हुन् ।

आफैले अध्ययन गरेको विद्यालयमा अध्ययनरत विपन्न तथा दलित र असहाय बालबालिकालाई वार्षिकरुपमा छात्रवृत्ति उपलब्ध गराउनका लागि अक्षयकोष स्थापना गरिएको पौडेलले बताए ।