पर्यटन/संस्कृति

सेतो मच्छिन्द्रनाथ रथजात्राका यस्तो बन्यो समिति

काठमाडौँ । आगामाी चैत ११ गतेदेखि शुरु हुने सेतो मच्छिन्द्रनाथ रथजात्राका लागि काठमाडौँ महानगरपालिकाले मंगलबार एक हजार १३८ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।

कामपाले मंगलबार यहाँ आयोजना गरेको कार्यक्रममा समिति गुरुजु (पुजारी) नीलकाजी शाक्यको संयोजकत्वमा स्थानीय सरोकारवाला सदस्य रहने गरी गठन गरिएको हो । समितिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुखसहित गुठी संस्थान, विद्युत् प्राधिकरण, स्काउट, रेडक्रस लगायतका संघसंस्थाका प्रतिनिधिलाई सदस्य राखिएको छ ।

त्यसैगरी, समितिको संरक्षकमा महानगरका प्रमुख र उपप्रमुख राखिएको छ । सोही अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जात्रामा कोही पनि असुरक्षित हुन नहुने भन्दै विकृतिजन्य क्रियाकलापलाई प्रश्रय दिनु नहुने बताए । जात्रामा देश तथा विदेशी नागरिकले सहजै सहभागी हुन पाउने व्यवस्था मिलाउनु पर्नेमा पनि शाक्यको जोड थियो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले स्थानीय सरकारको संयोजनमा हुने काममा आफू सहजीकरण गर्न र राष्ट्र प्रमुखको सवारी हुने बखतको सुरक्षा मिलाउने आफ्नो जिम्मेवारी स्थानीय समन्वयमा सम्पन्न गर्ने बताए ।

उक्त जात्रा काठमाडौँको मौलिकतासँग जोडिएको बताउँदै महानगरको वडा नं २५ का वडाध्यक्ष एवं व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले सुरक्षित र मर्यादित जात्रा चलाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।