विचार/ब्लग

राष्ट्रपति निर्वाचनः संघीय संसद् र प्रदेशसभा सदस्यबीच विमर्शको अवसर पनि

प्रकाश सिलवाल/ काठमाडौँ । ‘हाम्रो प्रदेशमा स्वागत छ, माननीयज्यु’ प्रदेश नं ३ का आन्तरिक मामिलामन्त्री शालिकराम जम्मकटेृलले प्रदेश नं ६ का आर्थिक तथा योजनामन्त्री प्रकाश ज्वालालाई लाइनमा हात मिलाउँदै भने,–“मन्त्री ज्वालाले धन्यवाद दिँदै जवाफमा सोध्नुभयो, ‘ल हाम्रो प्रदेशतिर कहिले आउनुहुन्छ त ?”

नयाँ सविधान बमोजिम प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राष्ट्रप्रमुख चयनका लागि पहिलोपटक भएको निर्वाचनमा संघीय संसद्देखि प्रदेशसभाका सदस्य मतदान मात्र होइन आपसी भेटवार्ताका रुपमा पनि यस अवसरलाई उपयोग गर्न व्यस्त देखिए ।

विगतमा व्यवस्थापिका संसद्मा रहेका जम्मकटृेल र ज्वाला पछिल्लो निर्वाचनपछि सम्भवतः पहिलोपटक भेट्दै आपसी बधाई साटासाट पनि गरे ।

निर्वाचनस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा लाइनमा उभिएका बेलामा संघीय र प्रदेशसभामा सदस्यबीच परिचय गर्ने र बधाई साट्ने तथा एकापसका अनुभव आदानप्रदान भएको पनि देखियो । संघीय संसद्का मतदाताको संख्या कम भए पनि प्रदेशसभामा धेरै सदस्य भएकाले लामो लाइनका कारण पनि उनीहरुबीच भलाकुसारी हुने थप वातावरण बन्यो ।

सँगै लाइनमा रहनुभएका प्रदेश नं ५ का सदस्य दिनेश पन्थी र प्रदेश नं ३ का सदस्य नरोत्तम वैद्यबीच आ–आफ्नो प्रदेशको नाम र राजधानीबारे विमर्श चलेको देखियो । पन्थीले आफ्नो प्रदेशको नाम लुम्बिनी र वैद्यले आफ्नो प्रदेशको नाम ‘पशुपति’ हुनुपर्ने विचार प्रकट गरे ।

मुुलुकले संघीयताको अभ्यास गरेपछि पहिलोपटक निर्वाचन मण्डलबाट राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन गराउने जिम्मा लिएको निर्वाचन आयोगलाई पनि यो नयाँ अभ्यास सावित भयो । कतिपय सदस्यले भने राष्ट्रपतिको निर्वाचनको मौकामा आफूहरु जुट्न पाएकामा खुशी थिए भने कतिपय सदस्यले सम्बन्धित प्रदेशमै निर्वाचन गराइएको भए कम खर्चिलो हुने टिप्पणी गर्दै थिए ।

मुलुकका सातै प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री एवं प्रदेससभा सदस्य सम्मेलन केन्द्रमा रहेको संघीय संसद् भवन परिसर, नयाँ बानेश्वरमा भेला भएर मतदान गरेको घटनालाई सञ्चार माध्यमले उत्सुकताका साथ समाचार संकलन गरेका थिए । निर्वाचन मण्डलका सदस्य आफ्ना आफ्ना वेशभूषामा सजिएर लाइनमा देखिएका थिए । कतिपय सदस्य यो निर्वाचनका लागि केही दिन पहिले नेपालको राजधानी काठमाडौँमा आएको थियो भने कतिपय सदस्य आजै आफ्नो प्रदेशबाट काठमाडौँ आई सिधै मतदास्थलमा पुगे ।

माननीय मतदाता रहेको स्थान भएकाले हो–हल्ला र अव्यवस्थित वातावरण भने त्यहाँ देखिएन । उम्मेदवारका तर्फबाट मत माग्नुपर्ने अवस्था पनि थिएन ।

मध्यान्हमा घाम चर्केकाले प्रदेशसभाका सदस्यहरुले गर्मी र थकान महसुस गरे पनि नयाँ/नयाँ परिचय र कुराकानीले उनहरुलाई सायद समय बितेको चाल भएन । बिहान १० बजेदेखि ३ बजेसम्म भएको निर्वाचनमा वाम गठबन्धनको समर्थनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसबाट कुमारी लक्ष्मी राई उम्मेदवार छन् ।

उम्मेदवार राई दिनभरजसो मतदानस्थलमा रहहेका थिए भने वर्तमान राष्ट्रपति पदीय मर्यादाका कारण त्यहाँ आएनन् । राष्ट्रपति निर्वाचनमा संघीय संसद्को ३३४ र प्रदेससभाका ५५० सदस्य रहने संवैधानिक व्यवस्था भए पनि कतिपय सदस्यको शपथ नभएका कारण कूल मतदाता ८८० थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरलगायत शीर्ष नेताले मतदानमा भाग लिँदा पत्रकारको ध्यान खिचिएको थियो ।

मतदानपछि प्रदेश नं ३ का सदस्य राजेश शाक्यले नेपालमा पहिलो पटक संघीयता भोगिए झैँ राष्ट्रपतिको निर्वाचनमा आफैले मतदान गरेको पनि पहिलो अनुभव रहेको सुनाए ।

मतदानका लागि आजै काठमाडौँ आउनुभएका प्रदेश नं २ का सदस्य रामाशीष यादवले आफूहरुलाई काठमाडौँ नबोलाई सम्बन्धित प्रदेशमा राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनमा सहभागी गराइएको भए राम्रो हुने सुझाव दिए। अर्को साता उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

प्रदेश नं ७ का सदस्य दिव्यलक्ष्मी शाहले राष्ट्रपति चयन गर्नु आफूहरुको महत्वपूर्ण दायित्व भएकाले काठमाडौँ आउनुपरेको र निर्वाचित हुने राष्ट्रपतिले सबै जनता र देशवासीको भावनालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने बताए ।

प्रतिनिधिसभाका सदस्य हृदयेश त्रिपाठीले संघीयता नयाँ भएकाले यसलाई क्रमशः अभ्यास र व्यवहार मिल्दै जाने अपेक्षा व्यक्त गरे । ‘सुन्दरता र मित्रताको अन्त्य हुँदैन । अभ्यासले परिमार्जन गर्दै लान्छ,’ त्रिपाठीले भने ।