राजनीति

सातै प्रदेशका मुख्य मन्त्री काठमाण्डौ, बानेश्वरमा

काठमाडौँ । मुलुकका सातै प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री एवं प्रदेशसभा सदस्यहरु आज संघीय संसद् भवन परिसर बानेश्वरमा भेला भएका छन् ।

संघीय गणतन्त्र नेपालको राष्ट्रपति पदको निर्वाचनमा मतदाताका रुपमा भाग लिन उनीहरु काठमाडौँ आइपुगेका हुन् । सो निर्वाचनमा प्रदेशसभाका ५४९ सदस्य मतदाता छन् ।

त्यस्तै संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३३१ सदस्य मतदाता छन् । राष्ट्रपति पदको निर्वाचनका लागि यतिका संख्यामा जनप्रतिनिधि पहिलो पटक राजधानीमा उपस्थिति भएको हो ।

संघीय संसद् भवन परिसरको पूर्वपट्टिको खुल्ला स्थानमा संघीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । संघीय संसद्को तुलनामा प्रदेशसभा सदस्यको संख्या बढी भएकाले प्रदेशसभा सदस्यको लाइन निकै लामो देखिएको छ ।

राष्ट्रपति पदको निर्वाचनका लागि ९ बजेदेखि मतदाता निर्वाचनस्थलमा प्रवेश गरेका थिए भने १० बजे बिहानदेखि मतदान शुरु भइसकेको छ ।