साहित्य

‘नेतृत्वमा नयाँ सोच र दृष्टि नहुँदा ललितकला क्षेत्र दयनीय’

काठमाडौँ । साँस्कृतिक संस्थानले नेपाली पौभा चित्रकलाका अग्रज कलाकार दीपक जोशीलाई सम्मान गरेको छ । चार दशकदेखि बौद्धधर्म र यससँग सम्बन्धित पौभा तथा थाङ्का चित्र लेखनमा उल्लेखनीय योगदान गरेवापत उनलाई सो सम्मान गरिएको हो । दश वर्षका उमेरदेखि पौभा तथा थाङ्का लेखनमा सक्रिय जोशीले पौभालेखन कला सिद्धिमुनि शाक्य र प्रेममान चित्रकारबाट हासिल गरेका हुन् ।

उनले करीव २० पटक थान्का तथा पौभा चित्रकला प्रदर्शनी तथा स्वदेश तथा विदेशमा थुप्रै पटक चित्रकला प्रस्तुत गरिसकेका छन् । उनले नेपाल टेलिभिजनको प्रतीकचिह्न पनि तयार गरेका हुन् । पचपन्न वर्षीय जोशी नेपाल परम्परागत चित्रकला परिषद्का उपाध्यक्ष छन् ।

सो अवसरमा नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले मुलुकका संगीत, नाटक, भाषा तथा साहित्य क्षेत्रमा पनि अन्वेषण हुनुपर्नेमा जोड दिँदै ललितकला, संगीत, नाट्य कलामा निखरता, क्यानभास आदि उपकरणको राम्रो प्रयोगबाट नै कलाकारको महानता पहिचान हुने बताए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शारदा चित्रकारले नेपालमा कला क्षेत्रको विकासका लागि युवाहरु कला समर्पित हुनुपर्ने बताए । नेपाल ललितकला मञ्चका अध्यक्ष लालकाजी लामाले २०० वर्षका बीचमा नेपालमा कलाको संरक्षणमा खास काम नभएको गुनासो गर्दै नेतृत्व तहमा गएकाहरुमा नयाँ सोच र दृष्टि नभएका कारण समग्र ललितकला क्षेत्र दयनीय रहेको विचार व्यक्त गरे ।

सम्मानित व्यक्तित्व जोशीले पौभाचित्र नेवार समुदाय र विशेष गरी बौद्धधर्ममा प्रयोग हुने गरिएको र यसले समग्र देशको नै पहिचान दिलाएको बताए ।