सूचना प्रविधि

‘पञ्चासे एफएम’को नियमित प्रसारण शुरु

फलेवास, पर्वत । पर्वत मिडिया हाउसद्वारा सञ्चालित ‘पञ्चासे एफएम’ १०२ दशमलव ८ मेगाहर्जले सोमबार साँझदेखि आफ्नो नियमित प्रसारण शुरु गरेको छ ।

गत असोजदेखि सदरमुकाम कुश्माबजारबाट परीक्षण प्रसारण गर्दै आएको एफएमको सबैजसो तयारी पूरा भई सोमबार साँझ ७ बजेको समाचारसँगै नियमित प्रसारण शुरु भएको हो । जिल्लामा पहिलो पटक व्यावसायिक रेडियोको रुपमा पञ्चासे स्थापना भएको हो । यसअघि प्रसारणमा रहेका चार रेडियो सामुदायिक हुन् भने दक्षिण पर्वतको रानीपानीबाट परीक्षण प्रसारण शुरु भएको ‘रेडियो सत्यवाणी’ समेत सामुदायिक रेडियो हो ।

सञ्चार क्षेत्रको तीव्रतर विकास क्रमसँगै नागरिकलाई स्वतन्त्र, निष्पक्ष, तटस्थ र शीघ्र समाचार, सूचना र मनोरञ्जन दिलाउनका लागि रेडियो स्थापना गरिएको ‘पञ्चासे एफएम’का प्रबन्ध निर्देशक गणेश पौडेलले जानकारी दिए । पौडेलका अनुसार ५०० वाट क्षमताको उक्त रेडियो पर्वतलगायत बागलुङ, म्याग्दी, गुल्मी, पाल्पा, स्याङ्जा, कास्कीमा प्रत्यक्ष सुन्न सकिने छ । त्यस्तै अनलाइनमार्फत पनि रेडियो सुन्न सकिने गरी तयारी गरिएको छ ।

सो सञ्चारमाध्यमसँगै एफएम रेडियोको संख्या छ पुगेको छ भने एउटा केबुल टेलिभिजनसमेत प्रसारणमा छ । त्यस्तै दुई दैनिक पत्रिका, ११ साप्ताहिक पत्रिका र चार त्रैमासिक पत्रिका पनि प्रकाशन भइरहेका छन् । जिल्लामै क्रियाशील सञ्चारकर्मीबाट झण्डै एक दर्जन अनलाइन पत्रिका पनि सञ्चालनमा छन् ।