समाचार

रेष्टुराँ नाम नै राखी गिद्ध संरक्षण अभियान

नवलपरासी । गिद्ध संरक्षणका लागि नवलपरासी (बर्दघाट– सुस्ता पूर्व) जिल्लामा गिद्ध संरक्षणका अभियान चलाइएको छ । कावासोती नगरपालिका–८ मा गिद्धलाई आहार जुटाउनका लागि जटायु रेष्टुराँ नाम नै राखी गिद्ध संरक्षण गरिँदै आएको छ । युएनडिपीको स्मल ग्रान्ट्स प्रोग्राम (एसजिपी)ले आर्थिक सहयोग गरेपछि यसरी गिद्धको संरक्षण शुरु भएको जटायु रेष्टुराँ व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर चौधरी बताए ।

बूढा गाईगोरुलाई गिद्धको आहारा बनाई रेष्टुराँ नै बनाइएको छ । चौधरीका अनुसार गिद्ध संरक्षण गर्नका लागि चितवनको कसरामा रहेको प्रजनन केन्द्रबाट गिद्धलाई नवलपुरको प्रकृतिमा छाडेर वातावरणअनुसारको स्थानमा संरक्षण गरिएको छ ।

शुरुमा ७२ गिद्ध रहेको सो स्थानमा हाल एसजिपीको सहयोगमा गाउँले संरक्षणमा लागेपछि २१७ सम्म गिद्ध गणना गरिएको चौधरीले जानकारी दिनुभयो हाल त्यहाँ पर्यटकको आवागमन पनि बढेको छ । पर्यटकले गिद्धको अध्ययन गर्नाका साथै जिप सफारी गरेर घाँसे मैदान, गैँडा, हात्ती, बाघलगायत जंगली जनावर हेरेर रमाउने गर्छन् । गिद्धको अध्ययन गर्नकै लागि भनेर जीवशास्त्रका विदेशी विद्यार्थी पनि यहाँ आउने गरेका छन् ।