पर्यटन/संस्कृति

विश्वको सबैभन्दा ठस्लो ढुंगाको मूर्ति बनाईरहेका मितेरीले राष्ट्रलाई एक हजार मूर्ति उपहार दिने

सुमन घिमिरे/उर्लाबारी, मोरङ । उर्लाबारी नगरपालिका–६ का ३८ वर्षीय मूर्तिकार मञ्जुल बराइली ‘मितेरी’ले विश्वप्रसिद्ध व्यक्तिको ढुंगाका एक हजार मूर्ति निर्माण सकेर राष्ट्रलाई उपहार दिने फलामे सपनाको घोषणा गरेका थिए।

विंस २०६१ मा १० वर्षभित्र ती मूर्ति राष्ट्रलाई दिने घोषणा गरेका बराइलीले २०७१ सालसम्म १५० को हाराहारीमा मात्र मूर्ति निर्माण गर्न सके । निर्मित मूर्तिको व्यवस्थापन, कच्चा पदार्थको अभाव, पारिवारिक समस्यालगायत कारणले पूरा हुन नसकेको त्यो फलामे सपना अब १० वर्षभित्र आफूले पूरा गरेरै छाड्ने अठोट उनले व्यक्त गरेका छन् । उनी जापानमा विश्वकै सबैभन्दा ठूलो ढुंगाको बुद्ध मूर्ति निर्माणका लागि डेढ वर्षअघि त्यहाँ पुगेका थिए ।

राष्ट्रलाई एक हजार मूर्ति उपहार दिने बराइली २०७२ सालमा रु ५० हजार राशिको युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएपछि उनको कला जापानसम्म माग भयो । जापानको एक विशाल पहरामा डेढ वर्षदेखि बुद्धको मूर्ति कोर्दै आएका बराइलीले केही दिनअघि मात्र आफ्नो घर फर्किएका बेला कुरा गर्दै राष्ट्रलाई दिने भनिएको एक हजार मूर्तिको सपना पूरा गरेरै छाड्ने उद्घोष गरे ।

उनी भन्छन् “अबको पाँच वर्षभित्र जापानमा बुद्धको मूर्ति निर्माण सकेर नेपाल फर्कन्छु र त्यसपछिको पाँच वर्ष हजारौ मूर्ति निर्माणमा समर्पित हुन्छु ।” जापानको कुमामोतो जिल्लाको खामीआमाकुसामा पर्ने सकिबुचोयामा नामको विशाल चट्टानी पहाडमा छिनो र हम्मर बोकेर उनीसहित चार जनाले बुद्धको मूर्ति सिर्जना गरिरहेका छन् ।

मूर्ति निर्माणवापत उनलाई दैनिक नेपाली रु १४ हजार आम्दानी भइरहेको छ । उनको नेतृत्वमा काभ्रेपलाञ्चोकका सानुभाइ विश्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित र मोरङकै गणेशकुमार राई संलग्न । उनको परिवार भने हाल उर्लाबारी–६ मै डेरा लिएर बस्दै आएको छ । उनको परिवारमा आमा, श्रीमती र एक छोरा हुन् । राज्यले के दियोभन्दा पनि राज्यलाई केही दिनुपर्छ भन्ने सोचका साथ अघि बढेका मूर्तिकार बराइली आफूले निर्माण गरेका मूर्तिको व्यवस्थापनको पिरलोमा परेका छन् ।

राष्ट्रलाई एक हजार ढुंगाका मूर्ति दिने फलामे सपना पूरा गर्न सक्छु भन्ने आफूमा विश्वास भए पनि त्यसको व्यवस्थापन समस्या बनेको उनले बताए । निर्माण गरेका मूर्तिको व्यवस्थापनका लागि उनले घर नजिकै वार्षिक रु १५ हजारमा जग्गा भाडा लिएर व्यवस्थापन गर्दै आएका छन् तर वर्षामा आउने बाढीका कारण मूर्ति बगाएर लैजाने चिन्ता छ ।

उहाँले निर्माण गरिसकेका मूर्ति अहिले सो जग्गामा बनाएको टहरामा छरपस्ट अवस्थामा छन् । आफ्नो आर्थिक अवस्था कमजोर भए पनि राष्ट्रलाई हजार मूर्ति उपहार दिर्ने घोषणा गरेका उनी भन्छन्, “मलाई मूर्ति निर्माणका लागि आवश्यक ढुंगा, औजार र संरक्षणस्थलको व्यवस्था गरेर राज्यले सहयोग गरेको भए म जापान जाने थिइन । ”

करीव १५ वर्ष अगाडि राजनीतिज्ञ मदन भण्डारी र जीवराज आश्रितको पहिलो मूर्ति निर्माण गरेका उनले हालसम्म दुई हजार ५०० भन्दा बढी ढुंगाका मूर्ति निर्माण गरिसकेका छन् ।