राजनीति

वैदेशिक रोजगारको ठगी नियन्त्रण गर्न गृहमन्त्रीको कडा निर्देशन, म्यानपावर ब्यावशायीहरु त्रासमा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले वैदेशिक रोजगारदाता संस्थाले कामदारमाथि गरिरहेको ठगी तथा शोषण रोक्नका कडा कदम चाल्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् ।

विभागका महानिर्देशक भुवनप्रसाद आचार्यलाई आज मन्त्रालयमा बोलाएर मन्त्री थापाले विदेश जाने कामदारबाट तोकिएकोभन्दा बढी रकम असुल्ने, भनेअनुसारको काम र तलब नपाउने जस्ता समस्याले धेरै युवा पीडित भएको गुनासो आएकाले यस्तो कार्यमा संलग्न वैदेशिक रोजगार संस्थालाई कारबाहीको दायरामा ल्याउन विभागलाई निर्देशन दिए ।

पीडितले विभागमा दिएको उजुरीमा भएको ढिलासुस्ती हटाउन र तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि उनले महानिर्देशक आचार्यलाई आग्रह गरे । मन्त्री थापाले विभागका साथै अब प्रहरीका तर्फबाट पनि वैदेशिक रोजगारीमा भएका ठगीबारे अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिए ।

उक्त निर्देशनपछि आक्रान्त बनेको म्यानपावर ब्यावशायीहरु त्रासमा रहेको एक म्यानपावर ब्यावशायीले सुर्यखबरलाई बताए ।