समाचार

बाँदर पीडितद्वारा पुनर्वासको माग

प्रकाश धौलाकोटी/तेह्रथुम । बाँदरले वर्षेनी दुःख दिइरहेको भन्दै जिल्लाका किसानले अन्यत्रै पुनर्वास गरिदिन माग गरेका छन् ।

वर्षेनी बाँदरले बालीनाली खाइदिएर समस्या बेहोर्दै आएका किसानले पुनर्वासको माग गरेका हुन् । बाँदरले दुःख दिएपछि समस्या लिएर जिल्ला प्रशासन कार्यालय पुग्ने किसानले अहिले गाउँगाउँमा पुगेका स्थानीय सरकारलाई बाँदरले निम्ल्याएका समस्या समाधान गर्न माग गरेका हुन् ।

तमोर तटीय क्षेत्रका गाउँ तथा ठूला जंगलका नजिकै रहेका बस्तीमा बाँदरले दुःख दिने गरेका छन् । छथर गाउँपालिकाका हमरजुङ, फाक्चामारा र पञ्चकन्याका किसानले आफूहरूलाई बाँदरले वर्षेनी दुःख दिइरहेको भन्दै अन्यत्रै पुनर्वास गरिदिन स्थानीय सरकारलाई माग गरेका छन् । यता लालीगुराँस नगरपालिकाका किसानले पनि बाँदरबाट निम्तिएका समस्या सुल्झाइदिन माग गरेका छन् ।

आठराई र फेदाप गाउँपालिकामा पनि बाँदरले सताएको भन्दै किसान गाउँपालिका पुगिरहेका छन् । म्याङलुङ नगरपालिकाका केही बस्तीमा पनि यो समस्या छ । आफूहरूले लगाएको कृषिबाली बाँदरले खाएर थन्क्याउन नदिएको, भगाउन जाँदा लडेर घाइते भएको र गाउँमा खाद्यान्न संकट हुने गरेको भन्दै पीडित किसानले आफूहरूलाई व्यवस्थापन गर्नुपर्ने माग अघि सारेका हुन् ।

यी गाउँमा बाँदरको आतंककै कारण वर्षेनी बसाइँ हिँड्नेहरुको संख्यासमेत उच्च छ । बाँदर आतंकले हैरान भएर गाउँ रित्तै बन्न थालेको छथर गाउँपालिका–२, हमरजुङका किसान भीमबहादुर थापाले बताए । “बाली लगायो, पाक्नै पाउँदैन, नलगाए घरभित्रै पसेर पनि लगिदिन्छ,” उनले दुःखेसो पोखे । बाँदरको आतंकले छथर गाउँपालिकाका हमरजुङ, पञ्चकन्या र फाक्चामाराका केही बस्ती रित्तिदै गएको उनले बताए ।

“बाँदरले अन्न, तरकारी र फलफूल बाली पनि बाँकी राख्दैनन्, खेदाउन जाने महिला र केटाकेटीलाई घाइते बनाइ दिन्छन्,” उनले भने । बाँदरले बाली नाली खाएर गाउँमा भोकमरीको समस्या आउन थालेको उनले बताए ।

“गाउँदेखि तल सबै जंगल छ, जंगल नजिकैका गाउँमा खेती लगाउने अवस्था छ, हुने खानेले जग्गा बाँझै छाडेर पनि बसाइँ उठे, नहुने गाउँ रुँगेर बस्या छौँ,” उनले भने । गाउँमा एकै पटकमा एक हजार बढीको हुल बाँदर पस्ने गर्छन् ।

बाँदरले वर्षेनी समस्या ल्याउने गरेकाले आफूहरुलाई सरकारले पुनर्वासको व्यवस्था गर्नुपर्ने स्थानीय भक्तबहादुर कार्कीले बताए । “बाँदरलाई तर्साएर भगाउन हतियार प्रयोग गर्न पाइँदैन, लठ्ठीले खेदाए आफैँमाथि जाइलाग्छन्, उनी भन्छन्” “कि बाँदर मार्नुप¥यो, कि हामीलाई अन्यत्रै लगेर बासको व्यवस्था गर्नुप¥यो ।”

बाँदरले घरभित्र राखेको अन्न र चामलसमेत लगेर खाइदिने गरेको उहाँले बताए । यी गाउँका बासिन्दा गत वर्ष बाँदरबाट भएका समस्या सुनाउन सदरमुकाम आएका थिए । यही समस्या लिएर गाउँपालिका पनि धाउने गरेका छन् । बाँदरले किसानका हिउँदे, बर्खे दुवै बाली नष्ट गर्ने गरेको आठराई गाउँपालिका–४ का कमल प्रसाईले बताए ।

“बाँदरले फलाएको अन्नबाली सबै खाइदिन्छ, खेदाउन गयो, एक्लै गए त आफैँलाई मार्ला भन्ने डर,” उनी भन्छन् । बाँदरले समस्या दिइरहेका गाउँमा हरेक वर्ष बाली लगाएपछि बाँदर रुङ्ने मान्छे ढुक्कै बस्नुपर्छ ।

बाँदरको समस्या हल नभए गाउँ छाडेर बसाइँ सर्नुपर्ने अवस्था आएको स्थानीय बताउँछन् । “कि त खेतबारीमा कमाएर खाने वातावरण हुनुप¥यो, कि बाँदर धपाउनु प¥यो” हमरजुङका किसान थापा भन्छन्, “नत्र हामीले बसाइँ सर्नुको विकल्प छैन ।”

बाँदरले बाली खाएर सताउने गरेका यहाँका गाउँमा जग्गा जमिनको कुनै मुल्य छैन । खेतीयोग्य जमिन वर्षौंदेखि बाँझै छन् । बाँदरले सताएपछि गाउँ छाडेर जाने गाउँमा भएको जमिन बाँझै छाडेर अन्यत्र बसाइँ सर्ने गरेका छन् ।

जंगलमा बस्ने, खाने बाँदरलगायत जंगली जनावर जंगलमा आहारा पाउन छाडेपछि गाउँ पस्न थालेका हुन् । बाँदरका लागि जंगलमा आहार नपाउने भएपछि गाउँ पस्न थालेको र समस्या निम्तिएको जिल्ला बन अधिकृत देवीचन्द्र पोखरेलले बताए ।

केही बस्तीका किसानले बाँदरले सताउने गरेको समस्या लिएर आएका र समाधानका उपाय खोज्ने काम भइरहेको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।

“गाउँपालिकाले बाँदरलाई पनि संरक्षण गर्दै स्थानीयवासीले पनि गाउँमै बस्ने वातावरण बनाउन पहल गर्छ,” उनले भने । बाँदर पीडित बस्तीमा बाँदरले मन नपराउने प्रकृतिका बाली लगाएर त्यहाँको समस्या हल गर्न सकिने कतिपयको तर्क छ ।

यता लालीगुराँस नगरपालिकाले भने बाँदरपीडित किसानका समस्या सुल्झाउन नगर सभाबाट बजेट विनियोजन गरेको छ । नगर क्षेत्रका बाँदर पीडित किसानका समस्या समाधान गर्न नगरपालिकाले रु पाँच लाख विनियोजन गरेको नगर प्रमुख अर्जुन माबोहाङले बताए ।

“बाँदरले किसान सताउँछ, त्यस्तो गुनासो पटक–पटक आइरहन्छ, त्यही समस्या समाधानका लागि सहज होस् भनेर बजेटको व्यवस्था गरिएको हो,” उनले भने ।

बाँदरपीडित किसानसँग परामर्श लिई बाँदरबाट निम्तिएका समस्या समाधानका लागि योजना निर्माण गरी काम गरिने उनको भनाइ छ । किसानले अन्य स्थानीय सरकारको पनि बाँदरबाट भइरहेको समस्या सुल्झाउन माग गरिरहेका छन् ।

बाली लगाउनुभन्दा अगावै किसान आएर बाँदरको समस्या हल गर्न माग गरेका फेदाप गाउँपालिकाकी उपाध्यक्ष गीता थापाले बताए ।