राजनीति

सडक मर्मत कार्यलाई प्राथमिकता दिन नेता सिंहको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँका सडक निर्माण कार्यलाई सम्पन्न गर्न आग्रह गरेका छन् ।

काठमाडौँका सडक निर्माण नभएर सवारी साधनको चाप परिरहेको गुनासो बढेपछि काठमाडौँ क्षेत्र नं १ का सांसदसमेत रहनुभएका नेता सिंह आज सडक डिभिजन कार्यालय पुगी सडकसहित विकास आयोजना कति समयमा सम्पन्न हुने हो भनेर स्पष्ट लेख्नुपर्ने र तोकिएको समयमा सम्पन्न गर्न आग्रह गरेका हुन् ।

नेता सिंहले विकास निर्माणको नाममा सरकारी निकायहरूले जथाभावी भत्काउने र खन्ने गर्नाले सर्वसाधारणलाई ठूलो समस्या परेको भन्दै सरकारी निकायबीच समन्वय गरेर विकास निर्माणलाई चाँडो सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख मुकुन्द अधिकारीले विद्युत्, खानेपानी, ढलले सहयोग नगरेका कारण सडक निर्माणका कार्य समयमा पूरा हुन नसकेको बताए ।

उनले सबै निकाय बसेर समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । दुई दिनभित्र आयोजनाका होर्डिङ बोर्ड राखेर काम गर्ने उनको भनाइ थियो ।