शिक्षा

एउटै विद्यालयमा दुई प्रधानाध्यापक

फलेवास, पर्वत । शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एक जना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि पर्वतको एक विद्यालयमा भने एक वर्षदेखि दुई जना प्रधानाध्यापक रहँदै आएका छन् ।

जिल्लाको कुश्मा नगरपालिका–११ मा रहेको वीरेन्द्र माविमा सरकारी निकाय र विद्यालय व्यवस्थापन समितिले बनाएका दुई जना छुट्टा–छुट्टै प्रधानाध्यापक रहँदै आएका छन् । एक वर्षअघि विद्यालयका प्रधानाध्यापक देवराज पौडेल कालिका मावि खुरकोटमा सरुवा भएर जाँदा ज्येष्ठताका आधारमा गणेशराज पौडेललाई निमित्त प्रअ दिएर गएका थिए । तर विद्यालय व्यवस्थापन समितिले भने पौडेललाई प्रअ बनाई काम गराउन नसकिने र हीराबहादुर क्षेत्रीलाई बनाउनुपर्ने अडान लिएपछि विवाद चुलिँदै गएको हो ।

पौडेल माध्यमिक तह तृतीय श्रेणीका स्थायी शिक्षक हुन भने क्षेत्री निम्न माध्यमिक तह द्वितीय श्रेणीका शिक्षक हुन् । पौडेलले यसअगाडि नै ०६८ सालबाट तीन वर्ष प्रअ भई काम गर्दागर्दै पदबाट राजीनामा गरेका थिए । उनीमाथि आर्थिक हिसाब–किताब पारदर्शी रुपमा राख्न नसकेको आरोप छ ।

पौडेलले आफूपछि प्रअ बनेकी सावित्रा सुवेदीलाई बरबुझारथ गरेनन् । क्षेत्रीय शिक्षा निर्देशनालय पोखरा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पुनरावेदन अदालत बागलुङ र जिल्ला शिक्षा कार्यालय पर्वतले शिक्षा नियमावलीअनुसार गणेशराज पौडेललाई प्रधानाध्यापक बनाउन भनी विद्यालयमा पत्राचार गरेको भए पनि व्यवस्थापन समितिले भने हीराबहादुर क्षेत्रीलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको छ । क्षेत्रीको पक्षमा समितिमा बहुमत छ । विद्यालयमा दुवै प्रअले कार्य सम्पादन गर्दै आएका छन् ।