पर्यटन/संस्कृति

नुवाकोट महोत्सवमा दुई करोडको कारोबार

त्रिशूली, नुवाकोट । ‘समृद्ध नुवाकोट हाम्रो अठोट’ भन्ने नाराका साथ विदुरमा सञ्चालन भएको पाँचौँ नुवाकोट महोत्सव आइतबार सम्पन्न भएको छ ।

नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा फागुन १६ गतेबाट शुरु भएको महोत्सव १२ दिनपछि आइतबार समापन गरिएको हो । समापन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामाले महोत्सवले जिल्लाको आर्थिक गतिविधि र व्यावसायिक विस्तारमा सकारात्मक प्रभाव पार्ने बताए । उनले स्थानीय उत्पादनका साथै धार्मिक तथा सास्ंकृतिक पर्यटन प्रवर्धनमा महोत्सवको भूमिका देखिनुपर्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले मेला महोत्सवको माध्यमबाट जिल्लामा आर्थिक समृद्धिको मार्ग खोजी हुनुपर्ने बताए । महोत्सवमा एक लाख दर्शकले अवलोकन गरेको र करीब रु दुई करोडको आर्थिक कारोबार भएको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।

जिल्लाको स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ शुरु गरिएको महोत्सवले जिल्लाको समृद्धिका लागि भूमिका खेलेको संघका अध्यक्ष ताराबहादुर कार्कीले बताए। महोत्सवबाट स्थानीय उत्पादन हस्तकलाका सामग्री र कृषिजन्य उत्पादनको प्रवर्धन भएको उनले बताए । ११ दिनसम्म सञ्चालन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि महोत्सवमा सहभागी व्यवसायीको मागलाई ध्यानमा राखी एक दिन थप गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा पछिल्ला दिनमा दर्शकको संख्यामा उलेख्य मात्रामा वृद्धि भएको थियो । महोत्सवमा विभिन्न चर्चित कलाकारले आ–आफ्नो प्रस्तुति दिएका थिए ।