समाचार

क्षति रोक्न विपद् व्यवस्थापनको तयारी शुरु

रत्ननगर, चितवन । चितवनमा स्थानीय निकायसँगको समन्वयमा बाढी, पहिरोलगायत विभिन्न घटनाबाट हुने क्षति रोक्न विपद् व्यवस्थापनको पूर्वतयारी शुरु भएको छ ।

जिल्लाको पहाडी क्षेत्र पहिरोको जोखिममा रहेको र तल्लो क्षेत्रका विभिन्न ठाउँ बाढीको उच्च जोखिममा रहेकाले जोखिम घटाउन पूर्व तयारी थालिएको चितवनका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समिति चितवनका संयोजक नारायणप्रसाद भट्टले बताए ।

आइतबार विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यवसायी र स्थानीय तहका प्रमुखको सहभागितामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले चितवनका विभिन्न क्षेत्रमा विपद् व्यवस्थापनको क्लष्टर निर्माण गर्ने निर्णय गरेको प्रजिअ भट्टले जानकारी दिए ।

पूर्वी चितवन, भरतपुर र पश्चिम चितवनमा सम्भावित घटना रोक्न र भएका घटनाबाट क्षति न्यूनीकरणका लागि समन्वय गर्नेगरी तीन ठाउँमा क्लष्टर निर्माण गर्न लागिएको हो । चितवनको राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले खोलानालामा आउने बाढीबाट वर्षेनी मानिसको मृत्यु हुने र धनजनको क्षति हुने गरेको भन्दै नदी नियन्त्रणका लागि ध्यानाकर्षण गराए ।

गर्मीको समय बढिरहेकाले आगलागीका घटनासमेत बढ्ने भन्दै यसतर्फ समितिले ध्यानाकर्षण गराएको छ । बैठकले हरेक महिनामा विपद् समितिको बैठक बसी पूर्व तयारीका कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ ।

वरिष्ठ कृषि विकास अधिकृत सुधीर श्रेष्ठले कृषि विकास समितिमा पेश भएको बाढीपीडित र भूकम्प पीडित किसानका लागि आएको अनुदान कार्यक्रमबारे बैठकमा जानकारी गराएका थिए । सो प्रस्तावसमेत विपद् व्यवस्थापन समितिले अनुमोदन गरेको छ । बैठकमा नारायणगढ मुग्लिन सडकअन्तर्गत चितवनको जुगेडी र सिमलतालमा हुने विभिन्न दुर्घटनालाई ध्यानमा राखेर चार वटा स्टेचर, फोकस लाइट र ४०० मिटर डोरी आवश्यक रहेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले प्रस्ताव पेश गरेका थिए ।

नारायणी यातायात व्यवसायी संघका प्रतिनिधि शंकर गिरीले उक्त सामग्री खरिदका लागि आवश्यक आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बैठकमा हालसम्म भएका विपद् व्यवस्थापन कार्यको समीक्षा, नयाँ ऐन, विपद् व्यवस्थापनको काम, मन्त्रालयबाट आएको परिपत्र लगायतको विषयमा छलफल भएको थियो ।