राजनीति

प्रधानमन्त्रीका पक्षमा मतदान गर्न एमाले र माओवादी केन्द्रको ह्वीप

काठमाडौँ । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को संयुक्त संसदीय दलले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

संसदीय दलको आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संयुक्त बैठकले दुवै दलका सबै संसद्लाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएको हो । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रम छ । उनी यही फागुन ३ गते प्रधानमन्त्रीमा चयन भएका थिए ।

संविधानानुसार प्रधानमन्त्रीमा चयन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । संयुक्त संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा(एमाले) संसदीय दलका नेता ओलीले संवैधानिक व्यवस्थानुसार विश्वासको मत प्रदान गर्न ह्वीप जारी गरे। उनले भने, “सबै प्रतिनिधिसभा सदस्यलाई प्रस्तावको पक्षमा मत दिन ह्वीप जारी गर्दछु ।” अध्यक्ष ओलीले दुवै दलले देशलाई सुशासन र आर्थिक समृद्धिको बाटामा अगाडि बढाउने प्रण गरेअनुसार संसद् र सरकार अगाडि बढाउनुपर्ने भएकाले सोही मर्मलाई ध्यान दिन आग्रह गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अनिवार्य रुपमा प्रधानमन्त्रीका पक्षमा मत दिन आफ्नो पार्टीका प्रतिनिधिसभा सदस्यलाई आग्रह गरे । उनले भने, “जनताको भरोसा र विश्वासलाई व्यावहारिक रुप दिन सबैले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुहोला ।”

उनले सरकार र संसद्को काम दुवै पार्टीले कदममा कदम मिलाएर अगाडि बढ्नुपर्ने अवस्था भएकाले ध्यान दिन प्रतिनिधिसभा सदस्यलाई आग्रह गरे ।