समाचार

प्रतिपक्षबिनाको सदन हुँदैन– उपनेता गच्छदार

काठमाडौँ । नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रतिपक्षबिनाको संसद् हुन नसक्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो दलले समर्थन गर्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले अगाडि सार्ने आर्थिक समृद्धिको कार्ययोजनामा आफ्नो पार्टीले पूर्णरुपमा सहयोग र समर्थन गर्ने स्पष्ट पार्दै सदन प्रतिपक्षबिहीन रहन नसक्ने बताए ।

सरकारले अगाडि सार्ने काम कारबाही हेरेर आफ्नो पार्टीले सहयोग, समर्थन एवं आलोचना र विरोध गर्ने भन्दै उनले प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

संविधानले प्रत्याभूत गरेका र प्रजातान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि काम हुन नहुने भन्दै उनले आफ्नो पार्टीले सदनमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपनेता गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम हुँदै गएको, संविधानले नेपाली जनतालाई अधिकार सम्पन्न बनाएको स्मरण गरे ।

उनले मधेशी, जनजाति, आदिवासी, महिलालाई अधिकार सम्पन्न बनाएको र स्थानीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएर संविधान कार्यान्वयनमा आएकामा खुशी व्यक्त गरे ।