स्वास्थ्य

सरकारी भवन अपांगता मैत्री नहुँदा सेवा लिन समस्या

पथरी, मोरङ । विराटनगरका दृष्टिविहीन चिरञ्जीवी शर्मालाई जिल्ला प्रशासन कार्यालय जाँदा सास्ती बेर्होनुपर्छ । उनलाई जिल्ला प्रशासन कार्यालयको तला चढ्ने ठाउँ भेटन सकस हुन्छ । उनी मात्र होइन विराटनगरकै खुट्टा नभएका रञ्जित उराव ह्विलचियरको भरमा तला माथि चढ्न सकदैनन् ।

त्यस्तै विराटनगर उप–महानगरपालिकामा समेत अपांगता भएकालाई सेवा लिन निक्कै सास्ती हुन्छ । दुई दिनअघि विराटनगर उप–महानगरपालिका पुगेका दृष्टिविहीन पारस कार्की सम्बन्धित कर्मचारी नभेटेर खाली हात फर्किए । उनी मात्र होइन विराटनगर–१० मोतीराम टोलकी शर्मीला गौतम र रुपा उराव एक तला चढ्न नसकेर सेवा नलिई फर्किनु भयो । उनीहरु त प्रतिनिधि पात्र मात्र छन् । उनीहरु जस्ता धेरै अपांगता भएका नागरिकलाई सरकारी भवन अपांगता मैत्री नहुँदा समस्या छ । मोरङका सरकारी कार्यालय अपांगता मैत्री नहुँदा अपांगता भएका सर्वसाधारणले सास्ती भोग्नु परेको छ । विभिन्न कामकाज लिएर जिल्ला प्रशासन कार्यालय पुगे पनि अपांगता मैत्री भवन नहुँदा सेवा लिन समस्या हुने गरेको छ ।

त्यसैगरी आन्तरिक राजश्व कार्यालय , भन्सार कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय, कृषि विकास बैक पूर्वाञ्चल क्षेत्रीय कार्यलय विराटनगर, मालपोत कार्यालय विराटनगर, इलाका प्रशासन कार्यालय उर्लाबारी, मालपोत कार्यालय बेलबारी, नापी कार्यलय बेलबारी लगायतका कार्यालय अपांतामैत्री छैनन् । सरकारले अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चारसेवा निर्देशिका २०६९ जारी गरेको थियो । तर सो निर्देशिका कार्यान्वयन नहुँदा अपांगता भएका सर्वसाधारणका लागि निक्कै समस्या भएको राष्ट्रिय अपांग महासंघ पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका अध्यक्ष राम कार्कीको भनाइ छ ।