साहित्य

स्व नकर्मीको कृतिको नेपाली संस्करण सार्वजनिक

भक्तपुर । नेपाल भाषाका वरिष्ठ कलाकार एवम् साहित्यकार स्व रामशेखर नकर्मी (शेखर दाइ)को नेपाल भाषाको कथा संग्रह ‘सिमात फःफःस्व’ को नेपाली संस्करण ‘बिच्किएका रूखहरु’ शनिबार सार्वजनिक भएको छ । आठ जना लेखक, साहित्यकार र पत्रकारको टोलीले नेपालीमा अनुवाद गरेको ‘बिच्किएका रूखहरु’ कथा संग्रहलाई नेपालभाषा एकेडेमीका चान्सलर चित्तरञ्जन नेपालीले विमोचन गरे ।

सो अवसरमा कथा संग्रह ‘सिमात फःफःस्व’ को दोस्रो संस्करण पनि सार्वजनिक गरिएको थियो । पल्पसा साहित्य ख्यःले प्रथम पटक प्रकाशित गरेको सो कथा संग्रहलाई महाजु फाउण्डेशन र नेवाः जनजागरणको आर्थिक सहयोगमा रामशेखर सहयोग समितिले नेपाल भाषामा दोस्रो संस्करणसमेत प्रकाशन गरेको हो ।

कथा संग्रह ‘सिमात फःफःस्व’का कथालाई रामशेखर सहयोग समिति भक्तपुरको सक्रियतामा त्रिरत्न शाक्य, गोविन्दमान श्रेष्ठ, ध्रुव मधिकर्मी, महेन्द्रगोपाल कर्माचार्य, ओमचरण अमात्य, अगिब बनेपाली, केवलप्रसाद कायस्थ र कृष्ण प्रजापतिले नेपालीमा अनुवाद ग रेका हुन् ।

सो अवसरमा स्व नकर्मीका आत्मिय मित्र आशा थकुले उनको साहित्यिक एवं हास्य कलाकारिताका बारेमा प्रकाश पारेको थियो । कथा अनुवादक गोविन्दमान श्रेष्ठ र ओमचरण अमात्यले स्व नकर्मीलाई जीवन्तता दिनका लागि संस्थागत रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपालभाषा आन्दोलनका नेता मल्ल के सुन्दरले स्व नकर्मीको व्यक्तित्व व्यक्ति मात्र नभई संस्थाका रुपमा लिनुपर्ने बताउँदैं शेखर दाइको तीखो लेखन शैलीले तत्कालीन तानाशाही पञ्चायती व्यवस्थाको विरुद्धमा सशक्त प्रतिनिधित्व दिएको र नेपालभाषा आन्दोलनमा ठूलो योगदान गरेको स्मरण गरे । उनले नकर्मीको रचनाहरु नाटक, हास्यव्यग्य, कथा, निबन्ध, उपन्यासहरु उत्कृष्ट भएको बताए ।