समाचार

जीर्ण बेली ब्रिजमा सवारी आवागमन बन्द

मस्र्याङदी, लमजुङ । मस्र्याङ्दी गाउँपालिका–३ खुदी खोलामा रहेको जीर्ण बेली ब्रिजमा सवारी आवागमन बन्द गरिएको छ । बेसीशहर–चामे सडकखण्डअन्तर्गत पर्ने खुदीखोलाको बेली ब्रिज भत्किएर जोखिम बढेपछि स्थानीयवासीले सवारी आवागमन बन्द गराएका हुन् ।

पुलमा गाँसेको पत्ताको नट फुत्किएको तथा पत्ता उक्किएको र दुलो पर्ने भएपछि पैदलयात्रु र सवारी साधन वारपार गर्न समस्या भएको थियो । बेली ब्रिज जीर्ण हुँदा दुर्घटना बढ्नाका साथै पैदलयात्रीलाई पनि समस्या भएको भन्दै सवारी आवागमन बन्द गराएको स्थानीयवासी वीरेन्द्र भण्डारीले बताए ।

सो जीर्ण पुलमा यसअघि पनि बालबालिका दुर्घटना पर्ने गरेका थिए । पुलको प्वालमा खुट्टा अड्किएर बालबालिका घाइते हुने गरेका स्थानीयवासीले बताएका छन् । बेसीशहर–चामे सडक निर्माणका क्रममा नेपाली सेनाले पाँच वर्षअघि सो बेली ब्रिज निर्माण गरेको हो । १९ टन क्षमताको सो बेली ब्रिजमा क्षमताभन्दा बढीका लोड गाडी आवत–जावत हुँदा पुल भत्किएको स्थानीयवासी बताउँछन् । पुल मर्मतका लागि सडक डिभिजन कार्यालयमा पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकादेखि मनाङसम्म पुग्ने सवारी सोही पुलबाट जाने गर्दछन् ।