समाचार

भवन निर्माणका लागि जग्गा उपलब्ध

कञ्चनपुर । रेडक्रस शाखा झलारीलाई कार्यालय भवन बनाउन १० धुर जमिन उपलब्ध गराउने घोषणा गरिएको छ । शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको ४२औँ जिल्ला सभालाई शनिबार सम्बोधन गर्दै जग्गा उपलब्ध गराउने घोषणा गरेका हुन्।

नगर प्रमुख ऐरले रेडक्रस जनतासँग धैरै नजिक भएर काम गर्ने संस्था भएकाले सबै क्षेत्रबाट सहयोगी संस्थाको सर्वाङ्गीण विकासका लागि अगाडि सर्नुपर्ने बताए । रेडक्रसको भौतिक पूर्वाधार विकासका लागि वडा नं ८ का तर्फ बाट रु ५० हजार रकम विनियोजन गरिएको उनले बताए ।

नगर उप–प्रमुख तुलसी हमालले कञ्चनपुर जिल्ला शाखाको कामको प्रशंसा गर्दै हरेक क्षेत्रमा जिल्ला शाखाले नेतृत्वदायी भूमिका खेल्न आग्रह गरे । जिल्ला शाखाद्वारा सम्पादित गत आर्थिक वर्ष २०७३÷७४ को प्रगति तथा आगामी आर्थिक वर्ष ०७४÷७५ को प्रस्तावित कार्यक्रम शाखाका मन्त्री रघुनाथ भट्टले सभामा प्रस्तुत गरे ।

आगामी वर्षका लागि रु ६ करोड ६५ लाख ९ हजार ५२९ को बजेट उनले सभासमक्ष प्रस्तुत गरे । उनले जिल्लामा नेपाल रेडक्रस सोसाइटीको एक शाखा, १३ उपशाखा, जुनियर सर्कल ६१, युवा सर्कल पाँच वटा संस्थागत संरचना रहेको र जिल्लामा एक जना यशस्कर सदस्य १० जना, विशिष्ट सदस्य दुई, दुई हजार १५६ आजीवन सदस्य र २६२ जना साधारण सदस्य रहेको र यसको नेटवर्क टोलसम्म रहेको जानकारी गराए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीलाई अतुलनीय योगदान पु¥याएबापत कदर गर्दै पूर्वरेडक्रसकर्मी चित्राङ्ग थापा, वीरबहादुर रोकाया, महेन्द्रबहादुर बस्नेत र नन्दादेवी खत्रीलाई सम्मान गरिएको थियो भने १० जनालाई मायाँको चिनो प्रदान गरिएको थियो ।