राजनीति

रेशम चौधरी उपचारका लागि काठमाडौँ बीर अस्पतालमा

काठमाण्डौ । स्वास्थ्यमा समस्या देखिएपछि टीकापुर घटना गराएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त रेशमलाल चौधरीलाई आज काठमाडौँ आएका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले चौधरीलाई आज अपराह्न हवाईजहाजबाट केन्द्रीय कारागार काठमाडौँ आएका छन्।

चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीले गरेको सिफारिसबमोजिम काठमाडौँ आएका हुन् ।

गएको छ दिनदेखि कैलाली कारागारमा रेशमसहित टीकापुर घटनाका २४ जना अभियुक्त अनशनमा बसेका थिए।

चौधरी कैलाली निर्वाचन क्षेत्र नं १मा राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । रेशमलालको स्वास्थ्यमा खनिज तत्वको कमी देखिएको पाइएपछि उहाँलाई काठमाडौँको वीर अस्पताल वा शिक्षण अस्पताल लैजान सिफारिस गरिएको सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा सजन केशीले बताए ।

आवश्यक ल्याब परीक्षण गर्ने सुविधा अञ्चल अस्पतालमा नभएकाले चौधरीलाई ‘रिफर’ गरिएको डा केसीले बताए ।

आज अचानक बिरामी भएर बेहोस भएका चौधरीलाई सेती अञ्चल अस्पताल धनगढी पु¥याइएको थियो ।

चौधरीसहित टीकापुर घटनाका अभियुक्त २४ जनाले निर्वाचित सांसद चौधरीलाई विजयीको प्रमाणपत्र उपलब्ध गराई शपथ ग्रहणको व्यवस्था मिलाउनु पर्ने, थरुहटको मागलाई सम्बोधन गर्नु पर्नेलगायतका माग राखेर कैलाली कारागारमा अनशन थालेका थिए ।

अनशन तोडाउने प्रयास असफल

आज बिहान अनशन तोड्ने भनिए पनि अन्तिम समयमा आएर अनशनकारीबीचको आपसी मतैक्यता हुन नसकेका कारण अनशन नतोडिएको बताइएको छ ।

अनशन बसेकाहरुको स्वास्थ्यमा समस्या देखिएपछि अनशनकारी सबैले आज अनशन तोड्ने जानकारी पाएपछि बिहानै कैलाली कारागारमा राजपा, थरुहटका नेता र सञ्चारकर्मीहरु पुगेका थिए ।

रेशमलाल चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र र शपथ दिइनुपर्ने माग पूरा भएपछि अनशन तोड्नुपर्ने एकथरिको भनाइ रहेकामा अर्कोथरिले सरकारले मुद्दा नै फिर्ता लिने लिखित सहमतिको माग गरेको जनाइएको छ ।