साहित्य

साहित्य सिर्जनामा काँग्रेसका युवा नेता

काठमाडौँ । नेपाली काँग्रेसको राजनीतिमा सक्रिय युवा विद्यार्थीले साहित्य सिर्जना गरी सुनाउने कार्यक्रमलाई पुनः निरन्तरता दिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएपछि अन्तरसंवाद समूह स्थापना गरी साहित्यमार्फत् लोकतन्त्रको स्थापनाका लागि अभियान चलाइएको थियो । लोकतन्त्र स्थापनापछि अभियान पनि बन्द भएको थियो । युवा काँग्रेसको यो साहित्यिक अभियान आज वाल्मीकि विद्यापीठबाट फेरि शुरु भएको छ ।

कार्यक्रममा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले साहित्य, कला, दर्शन अध्ययन तथा सिर्जनामा युवावर्ग लाग्नुपर्नेमा जोड दिए । “यस्ता साहित्यिक अभियानले राजनीतिक शुद्धीकरणमा सहयोग गर्छ, राजनीति गर्ने युवालाई पनि रचनात्मक बनाउँछ, अबको राजनीति आर्थिक र सामाजिक परिवर्तनका लागि हुनुपर्छ”–उनले भने ।

कार्यक्रममा राष्ट्रिसभाका सांसद बद्री पाण्डे, प्रतिनिधिसभाका सांसद प्रकाश स्नेही, प्रदेशसभा सदस्य बिजुला बर्मा, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, समूहका संस्थापक अध्यक्ष मनोजमणि आचार्य, संयोजक डिल्लीराम सुवेदीलगायत ३० युवा राजनीतिकर्मीले रचना पाठ गर्दै अबको राजनीति पनि सिर्जनात्मक हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा समूहका सदस्य एवं ठाकुरराम बहुमुखी क्याम्पसका उपप्राध्यापक स्वर्गीय ताराबहादुर थापाको स्मृतिमा मौनधारणसमेत गरियो । कार्यक्रमलाई प्रत्येक हप्ताको शनिबार निरन्तरता दिइने सो अवसरमा जानकारी गराइयो ।