कृषि

बिदेशबाट फर्किका युवाले थाले उन्नत जातका बाख्रा पालन व्यवसाय

बाबियाचौर, म्याग्दी । बेनी नगरपालिका– ९ आलवाङकामा विदेशबाट फर्किएका युवाले उन्नत जातका बाख्रा पालन व्यवसाय शुरु गरेका छन् ।

एक दशकभन्दा लामो समय विदेशमा काम गरेर फर्किएका ३६ वर्षीय नारायण शर्माले ‘मनिष बाख्रा फार्म’ सञ्चालन गरी यो व्यवसाय शुरु गरेका हुन् । उनको फार्ममा हाल जमुनापारी, खरी, बारबरी र अजमेरी जातका ६० वटा बाख्रा छन् ।

रु सात लाखको लगानीमा यो व्यवसाय शुरु गरेको शर्माले यसअघि १३ वर्ष खाडीमुलुक कतारमा रोजगारी गरेका थिए ।

“आफ्नै घरपरिवारसँग बसेर गाउँमै स्वरोजगार बन्ने उद्देश्यले फार्म स्थापना गरेर व्यावसायिक बाख्रापालन शुरु गरेको हुँ”, उनले भने, “खसी, बोका, पाठापाठी र बाख्रा बेचेर वार्षिक रु तीन लाखभन्दा बढी कमाइ हुन्छ ।”

एक वर्षको अवधिमा २० वटाभन्दा बढी खसी, बोका र पाठापाठी बिक्री गरिसकेको बताउँदै शर्माले फार्ममा माउ बाख्राको संख्या कम्तीमा १०० वटा पु¥याउने लक्ष्य लिएको भने । उनीलगायत परिवारका अन्य तीन जनाले पनि फार्ममा रोजगारी पाएका छन् ।

श्र्माले बाख्राको आहारका लागि १२ रोपनी पाखोबारीमा राईखन्यु, बाँसलगायत हिउँदे घाँसका बिरुवा लगाएको छ भने खेतमा जै घाँस खेती गरेका छन् ।

उनले जिल्ला पशुसेवा कार्यालयबाट बाख्रापालनसम्बन्धी आधारभूत तालीम लिएका छन् । फार्मबाट उत्पादित बाख्रा पात्लेखेत, घतान, पिप्ले र बेनीमा बिक्री हुने गरेको छ ।