उर्जा

कनकाई नगरपालिका विद्युत् चुहावटमुक्त नगर घोषणा

झापा, कनकाई । झापाको कनकाई नगरपालिका आजबाट पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस नगरपालिकालाई पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा गरेका हुन् ।

नगरपालिकाको गत माघ १६ गतेको नगरपरिषद्को निर्णयअनुसार आजबाट पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा गर्ने नेपालकै पहिलो नगरपालिकाका रुपमा स्थापित भएको छ ।

नगरका कूल ८० प्रतिशत जनताले विद्युत् सेवा प्राप्त गरेका छन् । बाँकी रहेका जनतालाई पनि आगामी दुई वर्षभित्र विद्युत् सेवा उपलब्ध गराई पूर्णरुपमा विद्युत् सेवा प्राप्त नगरकारुपमा घोषणा गर्ने योजना रहेको नगरप्रमुख राजेन्द्रकुमार पोख्रेले जानकारी दिए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरेर इतिहास कायम गरेकोमा नगरपालिकालाई बधाई दिँदै थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

नगरपालिकामा ५५ हजार जनसंख्या रहेका छन् भने ११ हजार घरधुरी रहेको नगरप्रमुख पोख्रेलको भनाइ छ ।