पर्यटन/संस्कृति

सेतो हिमाली गिद्ध मनाङमा रमाउँदै

मनाङ । उच्च हिमाली क्षेत्रमा हिमपातका कारण मरेका नाउर, घोरल, चौरीजस्ता जनावरको सिनो खाएर सेतो गिद्ध यहाँ रमाउने गरेका छन् ।

सन् १९९२ मा अन्नपूर्ण संरक्षण क्षेत्र लागू भएपछि वन्यजन्तु संरक्षणमा यहाँ ठूलो उपलब्धि देखिएको छ । लोपउन्मुख जनावर हिउँ चितुवा, गिद्ध लगायतका वन्यजन्तुको चोरी सिकारीमा रोक लगाएपछि मनाङमा अहिले करीब २०० को हाराहारीमा गिद्ध देखिन थालेका छन् ।

विश्वबाट नै लोप हुन लागेका सेतो हिमाली गिद्धको संरक्षणका लागि अभियान नै चलाएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवाले बताए । ठाउँठाउँमा हिमाली सेतो गिद्धको तस्वीर राखेर यसको संरक्षणका लागि समयसमयमा टोलटोलमा चेतनामूलक कार्यक्रम गरेको पनि उनले बताए ।

उच्च हिमाली क्षेत्रका विद्यालयमा प्रकृतिको संरक्षण र लोपउन्मुख जनावरको सुरक्षाजस्ता विषयवस्तुमा पाठ्यक्रम निर्माण गरी पठनपाठनसमेत गराइएको छ ।

अहिले मनाङमा सेतो हिमाली गिद्धसँगै थुप्रै हिमाली चराचुरुङ्गी देख्न पाइन्छ । लोपउन्मुख चराचुरुङ्गीको संरक्षणका लागि मनाङमा रोग लागेर मरेका कुनै पनि घरपालुवा जनावरलाई जथाभावी फाल्न रोक लगाइएको छ ।

कसैले मरेका त्यस्ता घरपालुवा जनावरलाई जथाभावी फालेको देखेमा समुदायले नै त्यस्ता व्यक्तिलाई समातेर जरिवाना गर्ने गरेका छन् ।

मनाङ आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्वपूर्ण जिल्ला भएको हुनाले यस्ता लोपोन्मुख वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षणले यहाँको पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको जिल्ला पर्यटन विकास समितिका अध्यक्ष विनोद गुरुङले बताए ।

हाल मनाङको नारफु, नेस्याङको गुम्साङ, याकखर्क, श्रीखर्क आइस लेकलगायतका ठाउँमा प्रशस्तै सेतो गिद्ध देख्न सकिन्छ ।