पर्यटन/संस्कृति

थामकोटमा भ्यूटावर निर्माण गरिने

म्याग्दी । पर्यटकीय क्षेत्र रुइसे–भेडीओढार क्षेत्रमा पर्यटक आकर्षणका लागि भ्यूटावर निर्माण गरिने भएको छ । रघुगंगा गाउँपालिकाको वडा नं १, २, ३ र ४ को सीमा क्षेत्रलाई समेटिएको रुइसे–भेडीओढार क्षेत्रमा पर्यटन आगमन बढाउनका लागि भ्यूटावर निर्माण गर्न लागिएको हो ।

धौलागिरि आइसफल पदमार्गले समेटिएको यो क्षेत्रलाई रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थलका रुपमा विकास गर्न रुइसेको थामकोटमा भ्यूटावर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। भ्यूटावर निर्माण गर्न गाउँपालिकाले रु १५ लाख र वडा नं २ ले रु एक लाख बजेट विनियोजन गरेका छन् ।

हालै गाउँपालिकाको पहलमा प्रदेश सांसद विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष कमला तिलिजालगायतको टोलीले स्थलगत निरीक्षण गरी थामकोटमा भ्यूटावर निर्माणका लागि सिफारिश गरेको छ ।

समुन्द्री सतहदेखि दुई हजार २२० मिटर उचाइमा रहेको थामकोट डिलमा भ्यूटावर बन्ने भएपछि आवश्यक तयारी शुरु गरिएको वडा नं २ का अध्यक्ष रिम कटुवालले बताए। थामकोटबा मनोरम हिमशृङ्खला, म्याग्दीका दर्जनौँ गाउँ बस्ती र प्राकृतिक सुन्दरतालाई एकैठाउँबाट अवलोकन गर्न सकिन्छ ।