पु.समाचार

जबर्जस्ती करणी गरेको अभियोगमा एक पक्राउ

गाईघाट, उदयपुर । जबर्जस्ती करणी गरेको अभियोगमा शुक्रबार साँझ यहाँ प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीे बराह–६ घर भई हाल उदयपुर बेलका नगरपालिका– ९ शुक्रबारेमा चटपटे व्यापार गर्दै आएका ६० वर्षीय सुडीलाल चौधरी रहेका छन् । स्थानीय एक १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौधरी साँझपख बाटोमा एक्लै हिँड्दै गरेको अवस्थामा बलजफ्ती पक्रेर झाँडीमा लगी स्थानीय १५ वर्षीया ती किशोरीलाई जबर्जस्ती करणी गरेको थियो ।

घटना घटेपछि बालिका चिच्याएको र स्थानीयवासीले उक्त घटना सम्बन्धमा थाहा पाएर प्रहरीलाई जानकारी गराएपछि चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने कार्य भइरहेको पनि उनले बताए ।

पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याउने कार्य भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।